सुचना, समाचार र मनोरन्जन

चलचित्र कलाकार संघ बोल्यो : अन्तरवार्तामा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति

काठमाडौं :

तीन दिन अघि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ अन्तरवार्ताकार सहित अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्रज्ञी राज्य लक्ष्मी शाहको कुराकानीले आलोचना भएपछि चलचित्र कलाकार संघ पनि बोलेको छ। बुधबार नेपाली कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले पनि यो विषयमा आफ्नो धारणा व्यक्त गरेको हो।

संघका अध्यक्ष मोहन निरौलाले एक विज्ञप्ती जारी गर्दै उक्त कार्यक्रममा कलाकारको अभिव्यक्ती अशोभनीय भएको उल्लेख गरिएको छ।
विज्ञप्तीमा भनिएको छ– ‘हालै एक टेलभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ ।’

‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ । आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्यायसगत ठहर्दैन र हुँदैन पनि, विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्य कलाकारहरुलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको उल्लेख गर्दै गत जेठ २९ गतेसमेत कलाकार र आम सञ्चार विषयक विचार गोष्ठी सञ्चालन गरेको स्मरण गराएको छ ।
‘यस भन्दाअघि पनि केही कलाकारहरुले सामाजिक मर्यादा विपरित अनुशासन विपरित आचार संहिता पालन नगरी अभिव्यक्ति दिनु भएकोमा संघको ध्यानाकार्षण भइ सचेत पनि गराएका थियौं । प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नदिन हामी यही बक्तव्यमार्फत अनुरोध गर्दछौँ ।’

Leave A Reply

Your email address will not be published.