काठमाडौं :
अविरल वर्षाका कारण देशभर ठुलो जनधनको क्षती भएपछि शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सानो संसार’को प्रदर्शन स्थगित भएको छ। यस फिल्मका निर्माताले आइतबारदेखि प्रदर्शन स्थगित गर्ने निर्णय गरेको विज्ञप्तीमार्फत जानकारी दिएका छन्।
निर्माता माधव वाग्ले र अर्जुन कुमारले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बाढीपहिरो र प्राकृतिक विपत्तिले मानिसलाई आवतजावत गर्न समेत कठिन भएकाले यस्तो निर्णय गरिएको उल्लेख गरेका छन्। उनीहरुले सहज वातावरण भएपछि फिल्मको पुनः प्रदर्शन गरिने जनाइएको छ। सायद अर्को साताबाट प्रदर्शनमा आउन सक्ने हल्ला चलेको बेला निर्माता अर्जुन कुमारले कात्तिक वा मंसिरका लागि नयाँ प्रदर्शन मिति घोषणा गर्ने बताए। निर्माताको निर्णय लगत्तै क्यूएफएक्स, आइएनआई लगायतका ठूला मल्टिप्लेक्स चेनले आइतबारको लागि शोज क्यान्सिल गरेका छन्।
पारिवारिक कथावस्तुमा बनेको यो फिल्मबाट हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाले डेब्यु गरेकी छन्। फिल्ममा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटीको अभिनय छ। यी सबै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन्।
अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको व्यानरमा ‘सानो संसार’ सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन्। सिद्धार्थले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हुन्। फिल्मको लेखन समेत निर्देशक पुडासैनीको छ।