काठमाडौं :
नेपालमा एक्सन फिल्मको बाढी आइरहेको छ। यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’,‘ह्रस्व दीर्घ’पछि एक्सन लभस्टोरी फिल्म ‘सत्या’ पनि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले आइतबार बेलुका सामाखुशीमा रहेको हलमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर समेत सार्वजनिक गरेको छ। यहि मंसिर १४ गते प्रदर्शनमा आउन लागेको फिल्मको साढे दुई मिनेट लामो टे«लर सार्वजनिक गरिएकोहो। ट्रेलरमा निर्माण टिमले विशेष प्राथमिकता एक्सनलाई दिइएको पाइन्छ।
मिलन आले मगरको निर्देशनमा बनेको फिल्ममा विकास थापा मगरको प्रस्तुति रहेको छ। फिल्ममा राज कालाखेती,प्रिया शर्मा,करणसिंह बोहरा,बिकास थापा मगर,वर्षा थिङ,सुमन खत्री,तेजा ऐर,ममता पौडेललगायतका कलाकारहरुले अभिनय गरेका छन्।
ट्रेलर लञ्ज प्रोग्राममा निर्देशक आले मगरले ‘सत्या’ केही समयअघि निर्माण गरिएको भए तापनि समयसान्दर्भीक रहेको बताए। प्रस्तुतकर्ता तथा अभिनेता विकास थापामगरले फिल्मका हिरोइन तथा केही निर्माता विदेशमा रहेकाले प्रदर्शनमा अलि ढिला भएको बताउँदै ‘सत्या’ भरपुर मनोरञ्जक बनेको दाबी गरे।
यसै फिल्मबाट अभिनयमा पाइला राखेका राज कालाखेतीले ‘सत्या’ बाट आफू निकै आशावादी रहेको बताए। धनेश्वर फिल्मस् एण्ड एडभरटाइजिङको प्रस्तुत रहेका ‘सत्या’ को निर्मातामा सुमन खत्री र झुम्कादेवी कालाखेती छन्। श्रवण सम्राटले लेखेको स्क्रिप्टमा सुमनकुमार तण्डुकारले खिचेका छन् भने संगीत विकास चौधरी,कोरियोग्राफी रामजी लामिछाने,सुरेश पाण्डे र सुरेन बसेलको रहेको छ। फिल्मलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन्।