सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपाल अफ्रिका चलचित्र महोत्सवमा शिव श्रेष्ठले भने,‘मेरो चलचित्र यसमा किन परेन’

काठमाडौँ :

१३ वर्षदेखि आयोजना हुँदै आएको ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’को १२औँ संस्करण सुरू भएको छ। कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह–आयोजनामा शुक्रबारबाट सुरु भएको हो। शुक्रबार चलचित्र प्रदर्शनसँगै सुन्धारास्थित सिने डी सेफको हल ९ असारसम्म तीन दिन चल्ने छ।

शुक्रबार बिहानै अफ्रिकाको चलचित्र प्रदर्शनसँगै शुरु भएको यो महोत्सवको औपचारिक उद्घाटन समारोहका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठलगायतले महोत्सवको बुकलेट विमोचनबाट गरेका थिए। उद्घाटन समारोहमा महोत्सब समारोहमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरणसँगै केही व्यक्तिहरुलाई सम्मान समेत गरियो । कार्यक्रममा बोल्दै अभिनेता शिब श्रेष्ठले यस्ता गतिविधधमा चलचित्र क्षेत्रसँग जोडिएका सरोकारवाला संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए।

उनले भने,‘यस्ता महोत्सवले हामीलाई विदेशी चलचित्रकर्मीको शैली र समाजसँग साक्षात्कार गराउँछ। त्यसकारण यसमा सहकार्य र सहयोग गर्नु चलचित्रकर्मीको दायित्व हो । मेरो चलचित्र यसमा किन परेन भन्ने महशुस भएको छ।’

महोत्सवमा १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन हुने महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन्।

उद्घाटन समारोहमा सबैलाई स्वागत गर्दै महोत्सव निर्देशक डब्बु क्षत्रीले नेपालमा अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव हुनुपर्छ भन्ने आश्यकता महसुश गरेर यो महोत्सव सुरुआत गरेको बताए । महोत्सबमा राज्य पक्षबाट असहयोग हुने गरेको, महोत्सवमा निशुल्क देखाईने चलचित्रलाई समेत सेन्सर बोर्डले प्रदर्शनीको लागि अनुमति नदिने गरेको र राज्यले महोत्सबको लागि बजेट पटक्कै नछुट्याएको उनले बताए।

उनले भने,‘आज १२ औँ संस्करणमा आइपुगेका छौँ । यस्ता महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ । नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिरहेका छौँ।’

महोत्सवमा अभिनेता श्रेष्ठसँगै अभिनेता धिरेन शाक्य, गजित विष्ट, निर्देशक माधवराज खरेल, अभिनेत्री तथा गायिका सरिता भारती लगायत सहभागी रहेका थिए। महोत्सवमा विदेशी चलचित्र, लघु चलचित्र र वृतचित्तर्फ गणेश पाण्डेको संयोजकत्वमा भारतबाट राहुल वर्मा, बंगलादेशबाट एमडी शाहारिअर कमल, नेपालबाट राजु केसी र रौनकविक्रम कँडेल सदस्य रहनुभएको निर्णायक समिति रहेको छ ।

यस्तै, नेपाली चलचित्र र वृतचित्रतर्फ अभिनेता एवम् नाट्यकर्मी विरेन्द्र हमालको संयोजकत्वमा भेषराज कार्की, कृष्ण रसाल, ओम सुनार सदस्य रहनुभएको निर्णायक समिति रहेको छ। यस्तै, नेपाली लघुचलचित्र र साङ्गीतिक चलचित्रतर्फ हिमाल श्रेष्ठ, प्रतीक्षा काफ्ले र सजिना लामिछाने सदस्य रहनुभएको निर्णायक समिति रहेको छ ।

महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाईट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ सहभागी छन् । यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’, वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ सहभागी छन्।

महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने जनाईएको छ । महोत्सवमा शुक्रबारबाटै तीन दिनसम्म एमआर्ट थिएटर कपनमा तिन दिनको विशेष अभिनय कार्यशाला पनि चलिरहेको छ ।

Leave A Reply

Your email address will not be published.