काठमाडौं :
महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५ औं वर्ष पूरा भएको अवसरमा शनिबार स्थापना दिवसका साथै हिरक जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई प्रमूख अतिथी रहेको हिरक जयन्ती समारोहको सभापति गिरिधर मिश्रले गरेका थिए ।
सो समारोहमा बागमति प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषा कायम गरेको निर्णयको स्वागत स्वरुप स्वागतगान नेपालभाषामा प्रस्तुत गरिएको थियो । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरी मा.वि. देशमा राणा शासन कायम रहेकै बखत विसं २००५ सालमा स्थापना गरिएको हो ।
काठमाडौं उपत्यकाका पुराना विद्यालयमध्ये काठमाडौं महानगरपालिका–३ मा पर्ने शिवपुरी सुरुमा बाँसबारी आधार पाठशाला,बाँसबारी मिडिल स्कुल, बाँसबारी माध्यमिक बिद्यालय हुदै बिसं २०३० को दशकको सुरुवातीदेखि शिवपुरी विद्यालयका रूपमा कायम छ । काठमाडौं महानगरपालिकाले यो विद्यालयलाई आफ्नो प्राविधिक शिक्षालयका रुपमा समेत विकास गरेको छ । ५३ जना शिक्षक र ८ जना कर्मचारी कार्यरत यो विद्यालयमा १ हजार ५ सय ९४ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय ७५ वर्ष पुग्नु आफैंमा ऐतिहासिक रहेको भन्दै विद्यालयलाई सबैको रोजाइमा राखिराख्न शैक्षिक गुणस्तरलाई अझ बढाउनेदेखि भौतिक संरचना थप व्यवस्थित गर्न आफूहरू लागिपर्ने कुरा प्रधानाध्यापक प्रकाश सुवेदीले बताए । १ देखि १२ कक्षाका साथै शिवपुरीको संरचनाबाटै स्नातक तहका २ वटा संकाय व्यवस्थापन र मानविकीको पनि अध्ययन गराइदै आएको छ ।
खासगरी विद्यालयमा अध्ययनरत छात्रछात्राको परिवारको आर्थिक अवस्था सामान्य रहेका देखि पारिवारिक पृष्ठभूमि भएका छात्रछात्राको रोजाइमा रहेको शिवपुरी हरेक वर्ष शैक्षिक क्षेत्रमा शिवपुरी अगाडि रहेको कुरा प्रधानाध्यापक सुवेदीले बताए । हिरक जयन्ती समारोहमा सो विद्यालयमा लामो समयदेखि अध्यापन मा रहेका शिक्षक तथा कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरिनुकासाथै पूर्व प्रधानाध्यापक हरुलाई पनि गरिएको थियो । सोही समारोहमा विद्यालयको वार्षिकोत्सव स्मारिका ‘नवपालुवा’ पनि विमोचन गरिएको थियो ।