काठमाडौं :
असोज १७ गतेबाट प्रदर्शन्मा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को अग्रिम टिकट बिक्री खुल्ला भएको छ। यहि बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको टिकट खुल्ला गरिएको हो।
यो फिल्मको अग्रिम टिकट खुल्ला गरिएपछि एफएक्सले काठमाडौं उपत्यकास्थित आफ्ना फ्रेन्चाइजमा २७ शो उपलब्ध गराएको छ भने उपत्यकाबाहिर १७ शो दिएको छ । त्यस्तै गरि आईएनआईले १६ शो प्रदान गरेको देखिन्छ। सम्भवतः फिल्मले पहिलो दिन देशभर २ सयभन्दा बढी शो पाउन सक्ने देखिन्छ।
सो मितिमा अन्य फिल्म नभएकोले फिल्मको ओपनिङ सन्तोषजनक हुनसक्ने अनुमान गर्न सकिन्छ तर ग्यारेन्टी भने छैन्। ३० वर्ष उमेर पुगेकी युवतीले योग्य वर पाउन गर्नुपर्ने संघर्ष र हैरानीको कथावस्तुमा फिल्म निर्माण भएको हो। नेपाली समाजको कथालाई वैवाहिक प्रवृत्तिलाई लिएर निर्माण गरिएको यो फिल्ममा स्वस्तिमा खड्का र निश्चल बस्नेतले संयुक्त रुपमा लगानी गरेका छन्। फिल्ममा मुख्य भुमिका पनि उनीहरुकै रहेको छ। फिल्ममा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ। यो उनीहरुको डेव्यु निर्देशकीय सिनेमा हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन्। सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।
नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी रहेको यस फिल्ममा जयन जे वाइवा र कुशल पोखरेलको संगीत समावेश छ। त्यस्तै गरि निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ। सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन्।
यहि शुक्रबारदेखि हलिउडको ‘जोकर २’ पनि प्रदर्शनमा आउने भएको छ। त्यसका कारण क्यूएफएक्स सहितका हलले ‘बेहुली फ्रम मेघौली’को बिहीबारको मात्र शो सार्वजनिक गरेका छन् ।