पोखरा /
पोखराको बाराहीघाटमा आगामी भदौ २१ र २२ गते आयोजना हुन लागेको तीज सांस्कृतिक महोत्सव २०८१, पर्यटक र स्थानीय बासिन्दाको आकर्षणको केन्द्र बन्दैछ। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) द्वारा आयोजित यस महोत्सवले सांस्कृतिक विविधता र महिला सशक्तीकरणलाई उजागर गर्दै पोखराको सांस्कृतिक र पर्यटनिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नेछ।
महोत्सवका मुख्य आकर्षणमा गण्डकी प्रदेशस्तरीय सांस्कृतिक तथा तीज गीत प्रतियोगिता रहेको छ, जहाँ प्रतियोगीहरुले आफ्ना मौलिक कला प्रस्तुत गर्नेछन्। साथै, विभिन्न भाषाका सांस्कृतिक प्रस्तुती, स्थानीय उत्पादन प्रवर्द्धनका स्टलहरू, रस्साकस्सी र साडी दौड प्रतियोगिता, हस्तकला र चित्रकला प्रदर्शनी, र धार्मिक तथा पर्यटन स्थल प्रवर्द्धनका गतिविधिहरूले महोत्सवलाई थप रंगीन बनाउनेछन्। त्यस्तै, प्यानल डिस्कसन (टक शो) मार्फत तीजको मर्म र नारी शक्तिको बहस कार्यक्रमले महिला सशक्तीकरणको सवालमा गम्भीर चर्चा परिचर्चा हुने अपेक्षा गरिएको छ। पर्यटन र संस्कृति प्रवर्द्धन सम्बन्धी टक शोहरु पनि महोत्सवको विशेष आकर्षण हुनेछन्, जसले स्थानीय पर्यटन व्यवसायलाई प्रोत्साहित गर्नेछ।
टेवानकी अध्यक्ष कमला गिरीका अनुसार, महोत्सवले पोखराको सांस्कृतिक धरोहरलाई बचाइ राख्न र महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्न ठुलो योगदान दिनेछ। यस महोत्सवले स्थानीय उत्पादनलाई नयाँ बजार दिने मात्र होइन, पोखराको पर्यटन क्षेत्रलाई पनि नयाँ उचाइमा पुर्याउने आशा गरिएको छ। पर्यटन प्रवर्द्धन र महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको यो महोत्सवले, पोखराको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने र स्थानीय समुदायलाई एकत्रित गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।