सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरामा भदौ २५ देखि २७ गते सम्म तीज साँस्कृतिक महोत्सव हुने

पोखरा ।

हरितालिका तीजको छेकोमा भदौ २५ देखि २७ गतेसम्म पोखरामा तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने भएको छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा हुने उक्त कार्यक्रमको विषयमा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरुको सहभागिता रहने टेवानकी अध्यक्ष कमला गिरीले बताइन् । उनका अनुसार महोत्सव लेकसाइड क्षेत्रको कोमागाने पार्कमा हुनेछ ।

तीन दिनको कार्यक्रममा खेलकुद, तीज गीत प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रर्दशन, स्वदेशी तथा विदेशी खानाका स्टल, ११ वटै जिल्लामा उत्पादन हुने वस्तुहरुको बजारीकरण, सांस्कृतिक कार्यक्रम, लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको उनले बताइन् । महोत्सव मार्फत पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजक संस्थाको छ । ‘पर्यटन व्यवसायमा अहिले अफसिजन चलिरहेको छ । अफसिजनमा पनि पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य सहित महोत्सवको आयोजना गरेका हौं । आशा छ सफल पार्न सबैको साथ मिल्नेछ ।’, उनले भनिन् ।

हरितालिका तीजलाई केवल चाडका रुपमा मात्रै नभई उत्सवका रुपमा नै मनाउने लक्ष्य सहित महोत्सवको आयोजना गरिएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ । महिला उद्यमशिलताको विकास, आर्थिक चलायमान, रोजगारी सिर्जना, समग्र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने हेतुले महोत्सवको आयोजना गरिएको हो । आर्थिक मन्दीले थलिएको पर्यटन व्यवसायलाई माथि उठाउने लक्ष्य महोत्सवको छ । महोत्सव प्रवेशका लागि कुनै शुल्क नलाग्ने गिरीले उल्लेख गरिन् । निशुल्क नै तीज सांस्कृतिक महोत्सवको अवलोकन गर्न पाइनेछ ।

महोत्सव सम्पन्न गर्न १५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत महोत्सवमा रहनेछ । महोत्सवलाई सफल पार्न पोखरा पर्यटन परिषद, रेवान लगायतका पर्यटन सम्बद्ध संघसंस्थाहरुको समेत सहयोग छ ।

Leave A Reply

Your email address will not be published.