काठमाडौं :
नेपाल र अमेरिकामा खिचिएको फिल्म ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैं’ सार्वजनिक भएको छ। सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण टिमले फिल्मको पहिलो गीत सार्वजनिक गरेको हो।
निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा कल्याण् सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको छ। गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ। फिल्मको मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड लिरिकल गीतमा चलअचल दृश्यहरु समावेश गरिएका छन्।
फिल्मका मुख्य अभिनेता विपिन कार्कीकी स्वर्गिय आमा सरस्वती कार्कीप्रति यो गीत समर्पित गरिएको छ। यस फिल्ममा अभिनेता विपिन कार्की दोहोरो भुमिकामा देखिएका छन्। उनी फिल्ममा जवान र बृद्ध गरि दुई फरक अवतार दर्शकले हेर्न पाउने छन्।
‘तेल भिसा’बाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका फिल्म निर्माण तथा निर्देशन गरेका थिए । आगामी मंसिर ७ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ। प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको ‘तेल भिसा’मा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।