पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी झन्डै २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई वटा टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४÷७५ मा ९८ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेकोमा गएको आर्थिक वर्षमा यो ७१ अर्ब २१ करोड रुपैयाँमा सीमित भएको छ । यो निरन्तर ओरालो लागिरहेको छ ।
टेलिकमको घट्दो आम्दानीको असर नाफामा देखिएको छ । नाफा खुम्चिँदा कम्पनीहरूले गर्ने लगानीमा पनि त्यसको असर परेको छ । टेलिकम क्षेत्रका जानकारहरू पछिल्ला वर्षमा आम्दानीको स्रोत बढाउन नसक्दा टेलिकम क्षेत्र सङ्कटोन्मुख भएको दाबी गर्छन् । तत्काल नीतिगत सुधार नगर्ने हो भने यो क्षेत्र समस्यामा पर्ने जानकारहरूको बुझाइ छ ।
आम्दानी र नाफामा देखिएको सङ्कुचनका कारण ‘फाइभजी’ लगायतका पूर्वाधारमा आवश्यक लगानी हुन नसकेको कतिपयको तर्क छ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलले दूरसञ्चार सेवालाई अत्यावश्यक सेवाका रूपमा लिनुपर्ने अवस्था रहेपनि नेपालमा भने विलासितापूर्ण वस्तुमा जस्तै कर लगाइएको बताए ।