सुचना, समाचार र मनोरन्जन
Sarangi

थारु गाउँ रिर्सोट : लक्जरी सुविधा, अर्गानिक खाना

सन्तोष बस्याल
पोखरा ।

पछिल्लो समय गाउँमा लगानी गर्नेहरु बढ्दै गएका छन् । शहर बजार भन्दा गाउँमै लगानी गर्न सुरक्षित महशुस गर्छन् स्थानीय । नवलपुर कावासोती स्थित थारु गाउँ रिर्सोट यसको गतिलो उदाहरण हो । कावासोती बजारबाट करिब २० मिनेट भित्री बाटो हिँडीसकेपछि उक्त रिर्सोट आउँछ । अमलटारी होमस्टे नजिकै रहेको रिर्सोटका संचालक हुन् फन्स महतो र गीता महतो । उनीहरुले आज भन्दा ५ वर्ष अगाडि रिर्सोट संचालनमा ल्याएका हुन् । दुई रोपनी क्षेत्रफलमा फैलिएको रिर्सोटको विशेषता भनेकै अर्गानिक खाना हो ।

नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वन सँगै चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारीका लागि कावासोती पुग्ने गरेका पर्यटकको बासका लागि उत्कृष्ट थलो थारु गाउँ रिर्सोट बन्न सक्छ । थारुहरुको विशेष सांस्कृतिक प्रस्तुती सहित उनीहरुको संस्कारका विषयमा जानकारी लिन शेरगञ्ज पुग्नुपर्छ । गण्डकी प्रदेश भित्र भएर पनि छायाँमा परेको पर्यटकीय स्थलका रुपमा सो ठाउँलाई लिन सकिन्छ । नेपालकै ठूलो गिद्ध संरक्षण क्षेत्र समेत सोहि ठाउँमा पर्छ ।

थारु गाउँ रिर्सोटका संचालक फन्स महतो र गीता महतो

रिर्सोटमा सस्तोमा लक्जरी सुविधा उपलब्ध गराइएको छ । मात्र एक जनाको दुई हजार ५ सय रुपैयाँ प्याकेजमा वान नाइट स्टे गर्न सकिन्छ । जसमा रातीको खाना र बिहानको ब्रेकफास्ट समावेश छ । रिर्सोटका रुमहरु समेत आकर्षक ढंगले सजाइएको छ । थारु समुदायको संस्कार अनुसार निर्माण गरिएको रिर्सोटको वरिपरि हरियाली वातावरण छ । ग्राहकको सुविधाका लागि सानो सानो कटेज समेत बनाइएको छ । जंगल सफारीका लागि रिर्सोट पुग्ने गरेका सेवाग्राहीलाई प्रति व्यक्ति एक हजारको दरले जंगल सफारी गर्ने व्यवस्था रिर्सोटले मिलाउँछ ।

लक्जरी सुविधा, अर्गानिक खानाको लागि उत्कृष्ट गन्तव्य बन्दै छ थारु गाउँ रिर्सोट । चार करोड लगानीमा निर्माण भएको रिर्सोटबाट फन्स र गीता सन्तुष्ट छन् । यसअघि यी दुई आ—आफ्नै पेशा व्यवसायमा संलग्न थिए । फर्निचर व्यवसायमा आबद्ध फन्सले पहिलो पटक पर्यटन व्यवसायमा हात हालेका हुन् । गीता भने यसअघि पार्लर संचालन गर्दै आएकी थिइन् । अहिले उक्त व्यवसाय देवर देउरानीलाई जिम्मा लगाएर उनी पनि रिर्सोटमा नै व्यस्त छिन् ।

थारु समुदायको कल्चर नृत्य

फन्सको फर्निचर व्यवसायले पनि गति लिइरहेकै छ । रिर्सोटको इन्टरियर डिजाइन सबै उनकै हो । फन्स र गीता पर्यटन व्यवसायमा नै रमाइरहेका छन् भन्दा अत्युक्त नहोला । उनीहरुको दैनिकी नै रिर्सोटमा ग्राहकको सेवा हुन थालेको छ । विस्तारै रिर्सोट सम्झेर स्वदेशी देखि विदेशी पाहुनाहरु पुग्ने गरेका छन् । तर पनि ठाउँको बारेमा प्रचारप्रसार व्याप्त नहुँदा समस्या खेप्नुपरेको फन्स बताउँछन् । “हाम्रो ठाउँ पनि सौराह भन्दा कम छैन । आनन्ददायी जंगल सफारी गर्ने व्यवस्था छ । तर प्रचारप्रसार फितलो हुँदा अगाडि बढ्न सकिरहेको छैन शेरगञ्ज ।”, उनले भने ।

आफुहरुले पटकपटक उक्त ठाउँको प्रचारप्रसारमा सहयोग गर्न सरकार गुहारे पनि सुनवाई नभएको तर्क उनको छ । जति प्रचार भएको छ सबै स्थानीयकै पहलमा भएको छ । सरकारी निकायबाट समेत प्रचारप्रसारमा ध्यान पुगे प्रदेशकै नमुना थलोको रुपमा विकास हुन सक्छ नवलपूर स्थित शेरगञ्ज ।

जंगल सफारी
Leave A Reply

Your email address will not be published.