सुचना, समाचार र मनोरन्जन
Sarangi

‘द रेड सुटकेस’ का निर्माण टिमले क्युएफएक्स हलमा प्रदर्शन नगर्ने

काठमाडौँ :

आगामी शुक्रबार अर्थात चैत ३० गते रिलिज हुने भनिएको फिल्म ‘द रेड सुटकेस’नेपालको ‘क्युएफएक्स चेन’मा रिलिज नगर्ने भएको छ। आईतबार एक विज्ञप्तिी जारी गर्दै निर्माण कम्पनी आईसफल प्रोडक्सनले आफ्नो फिल्म क्युएफएक्स चेनका हलमा रिलिज नगर्ने जनाएको हो।
विज्ञप्तिमा आफ्नो फिल्मलाई ‘क्युएफएक्स चेन’ले वेवस्ता गर्दै नयाँ वर्षको अवसरमा रिलिज नगर्न र अर्को हप्ता सार्न भनेपछि यि हलमा रिलिज नगर्ने निर्माण पक्षले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,‘विदेशमा दर्शक तथा समीक्षकबाट चलचित्रले राम्रै तारिफ पाए पनि हाम्रो लागि घरेलु दर्शकको प्रतिक्रियाको बेग्लै अर्थ रहन्छ । यही कारण पनि विदेशी वितरकको क्यालेन्डरसँग सामन्जस्यता मिलाउँदै हामीले चैत्र ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेका हौँ । तर प्रदर्शनको संघारमा देशको सबैभन्दा ठूलो सिनेमा चेन क्युएफएक्सले भने ‘द रेड सुटकेस’ लाई अन्य देशी–विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुर्नविचार गर्न सकिने आसयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्युएफएक्स चेनमा चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेका छौँ ।’

निर्माण पक्षले दर्शक प्रति क्षमा माग्र्दै अन्य फिल्म घरमा भने फिल्म निर्धारित मितिमा नै प्रदर्शन हुने जानकारी गराएको छ।

विज्ञप्तिमा थप लेखिएको छ,‘यसअघि पनि हाम्रो निर्माण रहेको ‘ऐना झ्यालको पुतली’ माथि पनि विदेशी फिल्म सेन्सर नभएको झोकमा निर्धारित समयमा बुकिंग खोलिएको थिएन। कलात्मक चेतमा निर्माण भएका यस्ता फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्दै आइरहेको सूची लामो छ। चाडपर्व र विदाका समयमा यस्ता फिल्मलाई प्रदर्शनको मौका नदिएर नजानिँदो गरी सिनेमा घरले फरक धारका फिल्म दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य निर्माण गरिरहेका छन् । हामी यस्ता असहिष्णु व्यवहारको भद्र अवज्ञा गर्न चाहान्छौँ ।’

विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भई विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृत समेत भएको यो फिल्मलाई युएफओ च्यानलले युरोपको लागि खरिद गरेको छ भने अन्य देशमा पनि यसको विक्री वितरण भईरहेको छ।

यस फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायतको मुख्य भूमिका छ । श्रीलंका र भारतमा प्राविधिक कार्य गरिएको यो फिल्मका निर्देशक फिडेल देवकोटा हुन् । फिल्मका निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा रहेका छन् । यो फिल्मले गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर हुँदा त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो ।

Leave A Reply

Your email address will not be published.