सुचना, समाचार र मनोरन्जन

नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुँदै

 

पोखरा : इन्द्रेणी थिएटर पोखराको प्रस्तुति तथा निर्देशक केदारनाथ पौडेलद्वारा लिखित,निर्देशित नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने भएको छ। अप्रिल १२ र १३ मा इटाबासीस्थित Subterranean नाटकघरमा र अप्रिल १४ मा टोकियोको Nakano Zero Hall मा नाटक भव्य रूपमा प्रदर्शन हुने तयारी छ।

 

केदारनाथ पौडेलद्वारा लेखिएको ‘आतुरकाल’ नेपाली समाजको पीडा, संघर्ष, विस्थापन, वर्गसंघर्ष तथा युद्धका त्रासदीपूर्ण क्षणहरूको मनोवैज्ञानिक चित्रण हो। जीवनका विभिन्न मोडहरूमा पात्रले भोगेका दुःख, विछोड, सपना, समाजको विभेद तथा निरन्तर आइरहने नियतिको खेललाई नाटकले सशक्त रूपमा प्रस्तुत गर्छ।

 

यस नाटकका प्रमुख कलाकार किरण चापागाईं हुन्, जसले अत्यन्त गहकिलो अभिनय प्रस्तुत गरेका छन्। नेपाली रंगमञ्चका प्रतिभाशाली कलाकार चापागाईंले युरोप, अमेरिका, क्यानडाजस्ता मुलुकहरूमा नाट्यकला अध्ययन गरेका छन्। उनले ‘अनुत्तर’ जस्ता नाटकमा एकल अभिनय प्रस्तुत गर्दै देश, जीवन र भविष्यसँग जुधिरहेका पात्रहरूको कथा उजागर गरेका छन्।

 

यसअघि ‘आतुरकाल’ पोखरा थिएटरमा सन् २०२१ को फेब्रुअरी २२ देखि ३२ सम्म तथा रसियन हाउस, काठमाडौंमा २०२३ सेप्टेम्बर ७ देखि ९ सम्म मञ्चन भएको थियो। हरेक पटक नाटकले दर्शकहरूबाट अत्यधिक प्रशंसा पाएको छ।  नाटकको मूल कथावस्तु एउटा वृद्ध (किरण चापागाई) पात्रको स्मृतिहरू वरिपरि घुम्छ। जीवनका उत्तरार्धमा जब स्मृतिहरूले तड्पाउन थाल्छन्, तब उनले विगतको सम्झनामा बाँच्नुपर्ने बाध्यता महसुस गर्छन्। नाटकले बाल्यकालका सुखद क्षणदेखि पारिवारिक विछोड, सामाजिक विभेद, विस्थापन, संघर्ष, र अन्ततः वृद्धावस्थाको एक्लोपनलाई मार्मिक रूपमा उजागर गर्छ।

 

यसअघि जापानमा केदारनाथ पौडेल निर्देशित ‘भ्रूण’ नाटक मञ्चन भएको थियो। जापानमा हुने यो नयाँ प्रदर्शनसँगै नेपाली नाटकले अन्तर्राष्ट्रिय मञ्चमा अझ गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ।नाटकको जापान प्रदर्शन तालिका अनुसार अप्रिल १२–१३: Subterranean नाटकघर, इटाबासी तथा अप्रिल १४: Nakano Zero Hall, टोकियो यो नाटकले नेपाली प्रवासी दर्शकसहित जापानी रंगमञ्चप्रेमीहरूलाई पनि लोभ्याउने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.