काठमाडौं :
सामाजिक सञ्जाल टिकटकबाट १५ सेकेण्डको भिडियो निर्माण गरेर चर्चामा आएकाहरुले म्युजिक भिडियोमा राम्रै जमे। भिडियोमा काम गरिरहेकाहरुलाई पछार्दै राम्रै दाममा भिडियोमा काम गरे। नेपालमा चलेका अभिनेत्रीको भन्दा राम्रो दाममा काम गरे र पैसा कमाए। अब उनीहरु बिग मुभिमा धमाधम डेब्यु गर्न थालेका छन्।
टिकटकमार्फत चर्चामा आएका कलाकारहरुलाई निर्माता पक्षले धमाधम आफ्नो फिल्ममा भित्राइरहेका छन्। मिस पवि,सिम्रन पन्तले फिल्म ‘राजमहल’बाट अभिनयमा डेब्यु गर्ने भएका छन्। बिहिबार फिल्मको घोषणामार्फत दुई टिकटकरलाई अभिनेत्रीको रुपमा डेब्यु गराउन लागिएको निर्माण पक्षले जानकारी दियो।
टिकटकबाट नै म्युजिक भिडियोमा जमेकी गरिमा शर्मा अभिनेत्री नीता ढुङ्गानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्व दीर्घ’को छायांकनमा व्यस्त छन् । यता अर्की टिकटकर मोडल कुसुम शर्मा फिल्म ‘सञ्जीवनी’बाट अभिनेत्रीका रुपमा दर्शकमाझ आउन लागेकी छन्। उनी यो फिल्मको साइन गरेर बसेकी छन्। अन्य कलाकारहरु पनि धमाधम फिल्मको लाइनमा आएका छन्।
अवसर नपाएकाहरुको लागि टिकटक एउटा प्लेटफर्म बनेको थियो। अहिले सरकारले यो एपलाई बन्द गरेको छ। यहि टिकटकबाट आभा थापा,भट्टराई कृष्णे लगायतका कलाकारहरुले केहि भिडियोमा समेत काम गरिसकेका छन्। कोही विज्ञापनमा समेत देखिएका छन्।