सुचना, समाचार र मनोरन्जन

पर्यटकीय राजधानी पोखराको महत्वाकांक्षी गुरुयोजना

 

कास्की : पोखरामा गण्डकी प्रदेशका ११ जिल्लाका २४ वटा उद्योग वाणिज्य संघका अध्यक्ष सचिवहरूसहितको प्रतिनिधिहरूको ‘पर्यटकीय सम्भावना तथा विकास सम्बन्धी प्रदेशस्तरीय गोष्ठी’ भएको छ ।

गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने योजनामा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । लेखनाथमा आयोजित प्रदेशस्तरीय गोष्ठीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको पर्यटन विकासलाई प्राथमिकतामा राख्दै प्रदेशको दोस्रो पञ्चवर्षीय योजना अन्तर्गत महत्वपूर्ण कदम चालिएको बताए । सीमित स्रोत साधनका बाबजुद पनि पर्यटन गन्तव्यको संरक्षण, विकास र प्रवर्धनका लागि बजेट विनियोजन गरिएको छ ।

मुख्यमन्त्री पाण्डेले पोखरालाई विश्वभरका नागरिकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । पर्यटकहरूका लागि सडक र हवाई मार्गलाई सहज बनाउनुका साथै, उनीहरूलाई स्वतन्त्र रूपमा घुम्न पाउने वातावरण सिर्जना गर्नु सरकार र पर्यटन व्यवसायीको साझा जिम्मेवारी भएको उनको भनाइ थियो । यसैक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्ने क्रममा विभिन्न देशका प्रतिनिधि र एयरलाइन्स कम्पनीहरूसँग कुराकानी भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले पर्यटकीय पदमार्ग सडकको लोप हुँदै गएको अवस्थालाई सम्बोधन गर्दै नयाँ पदमार्गको विकास गर्ने र साहसिक खेलकुदको प्रवर्धनका लागि योजनाबद्ध प्रयास भइरहेको बताए । ताल, हिमाल र स्थानीय संस्कृतिहरूको माध्यमबाट पर्यटक भित्र्याउन सकिने सम्भावनालाई जोड दिँदै उनले आन्तरिक पर्यटनलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने सुझाव दिए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विदेशी पर्यटक भित्र्याउन प्रभावकारी नीति बनाउनु आवश्यक रहेको बताए । नेपालमा विदेशी पर्यटकको संख्या अपेक्षाकृत न्यून भएकोले भारत र चीनबाट पर्यटक भित्र्याउन सकिएमा पोखरामा लाखौं पर्यटक आकर्षित गर्न सकिने उनको विश्वास थियो । अधिकारीले निर्माणाधीन पोखरा–मुगलिङ सडकको स्तरोन्नति भएपछि पोखरामा पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरे ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटन र उद्योग क्षेत्रको सहकार्यलाई समृद्धिका लागि महत्वपूर्ण मानिएको बताए । निजी क्षेत्रको सहभागितामा प्रदेश सरकारले पर्यटन र उद्योगको अवसर खोज्न तत्पर रहेको उनको भनाइ थियो । पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्ने गण्डकी प्रदेशको गुरुयोजना स्पष्ट रूपमा पर्यटन प्रवर्धन, भौतिक पूर्वाधारको सुधार र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन केन्द्रित छ । सरकारी प्रयास र निजी क्षेत्रको सहकार्यले मात्रै यो लक्ष्य पूरा गर्न सकिने सहभागीहरूको ठम्याई छ ।

गण्डकी प्रदेशमा पर्यटन विकासका सम्भावना र अवसरहरू

गण्डकी प्रदेशका निवर्तमान नीति तथा योजना आयोगका उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडाले गण्डकी प्रदेशमा पर्यटन विकासका सम्भावना र अवसरहरूबारे प्रस्तुत गरेका विचारले नेपालमा पर्यटन विकासको महत्व र यसको दीर्घकालीन सम्भावनाहरूको गहन विश्लेषण उजागार गरेको छ । उनले नेपालमा पर्यटन विकासको ऐतिहासिक पृष्ठभूमिबाट सुरु गर्दै यसले विश्व अर्थतन्त्रमा पुर्‍याएको योगदान र पर्यटन मार्फत प्राप्त गरिने सामाजिक र आर्थिक लाभहरूको चर्चा गरे ।

डा. खतिवडाको प्रस्तुति पर्यटनलाई केवल आर्थिक लाभमा मात्र सीमित नराखी, यसलाई विश्व भाइचारा, आपसी समझदारी, सहकार्य र विश्वासको माध्यम मान्ने विचारमा केन्द्रित थियो । उनले पर्यटनलाई शान्ति र समृद्धिको स्रोतको रूपमा परिभाषित गरे, जसले स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म सकारात्मक प्रभाव पार्न सक्छ ।

पर्यटनको सुरुवात र योगदान, नेपालमा पर्यटनको सुरुवातको इतिहासलाई उजागर गर्दै डा. खतिवडाले सन् १९५० मा मौरिस हर्जोगको नेतृत्वमा भएको अन्नपूर्ण हिमालको सफल आरोहणले पर्यटनको ढोका खोलेको जनाए । यो घटना नेपालमा पर्वतीय पर्यटनको महत्वपूर्ण कोसेढुङ्गा साबित भएको थियो । त्यसपश्चात् नेपालले विश्वभरका पर्यटकहरूलाई आफ्नो प्राकृतिक सौन्दर्य, साहसिक पर्यटनका सम्भावनाहरू र सांस्कृतिक विविधताहरूको माध्यमबाट आकर्षित गर्न थालेको उल्लेख गरे ।

नेपालमा पर्यटन उद्योगको योगदानमा पनि डा. खतिवडाले गहिरो ध्यान केन्द्रित गरे । उनले पर्यटनले स्थानीय जीवनस्तर सुधार्ने, ग्रामीण पर्यटनको माध्यमबाट जीविकोपार्जनमा वृद्धि गर्ने र विशेषगरी गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्ने कुरा प्रस्ट्याए । पर्वतीय पर्यटन, साहसिक पर्यटन र ग्रामीण पर्यटनले स्थानीय समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन सक्ने बताए ।

डा. खतिवडाले नेपाल र गण्डकी प्रदेशमा पर्यटन विकासको सम्भावनाहरूको बारेमा विश्लेषण गर्दै आन्तरिक पर्यटनको बजार विस्तारको आवश्यकता औंल्याए । उनले विशेषतः प्रकृति, संस्कृति र साहसिक गतिविधिहरूलाई पर्यटनका मुख्य आधारको रूपमा लिनुपर्ने सुझाव दिए । नेपालका आन्तरिक पर्यटकहरूलाई विभिन्न जिल्लाहरूको पर्यटन स्थलहरूमा सहज पहुँच पुर्‍याउनुपर्ने र यसले गर्दा आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न सकिने बताए ।

तनहुँको मिलिनियम पदमार्ग, बन्दीपुरको हिल स्टेसन, पर्वतको कालीगण्डकी साहसिक पर्यटन, वाग्लुङको धार्मिक पर्यटन, नवलपुरको अमलटारी घरवास पर्यटन, लमजुङको राइनासकोट र गोरखाको लिगलिगकोटजस्ता उदाहरणहरू दिँदै उनले पर्यटन विकासका ठोस परिणामहरू देखाउन सकेको जनाए । यसले आन्तरिक पर्यटनलाई अझ मजबुत बनाउँदै प्रदेशको समग्र आर्थिक विकासमा योगदान पुर्‍याउन सक्ने धारणा राखे ।

पर्यटन विकासका लागि ठोस नीतिगत व्यवस्थाको आवश्यकता रहेको डा. खतिवडाको मुख्य सन्देश थियो । उनले नेपालका ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको संरक्षण र प्रवर्धनलाई पर्यटन नीतिको मूल आधार बनाउनुपर्ने सुझाव दिए । पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्दै यसले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने मात्र नभई, स्थानीय जनतालाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउने नीतिहरू बनाइनुपर्ने उनको धारणा थियो ।

डा. खतिवडाले पर्यटनलाई समृद्धिको संवाहक बनाउन निजिक्षेत्र र नागरिकहरूको भूमिकामा विशेष जोड दिए । उनले पर्यटनको प्रवर्धनमा निजी क्षेत्रको सहभागिता अत्यन्त महत्त्वपूर्ण रहेको बताए, जसले गर्दा स्थानीय जनताका लागि रोजगारी सिर्जना गर्न सकिन्छ । उनले अन्तर जिल्ला र प्रादेशिक पर्यटन प्रवर्धनको माध्यमबाट गण्डकी प्रदेशलाई समृद्ध बनाउने अवधारणाको पक्षमा ठोस समाधानहरू प्रस्तुत गरे ।

डा. खतिवडाको प्रस्तुतिले पर्यटन विकासको महत्वपूर्ण सम्भावनाहरू र अवसरहरूलाई प्रस्टसँग राख्न सफल भएको थियो । पर्यटनले केवल आर्थिक लाभ मात्र होइन, सामाजिक र साँस्कृतिक रूपमा पनि सकारात्मक प्रभाव पार्न सक्छ ।

नेपालका विभिन्न प्रदेशमा आन्तरिक पर्यटनको सम्भावना पहिचान गर्दै, पर्यटन प्रवर्धनका लागि नीतिगत व्यवस्थाको आवश्यकता औंल्याउँदै, उनले पर्यटनलाई समृद्धिको संवाहक बनाउन आवश्यक आधारहरू प्रस्तुत गरे । उनले पर्यटन प्रवर्धनका लागि नीतिगत व्यवस्थाको महत्व र निजी क्षेत्रको सक्रिय भूमिकामा जोड दिए । पर्यटनले नेपालको आर्थिक र सामाजिक विकासमा दीर्घकालीन योगदान पुर्‍याउन सक्ने र यसका लागि ठोस योजना आवश्यक रहेको उनको निष्कर्ष थियो ।

उक्त कार्यपत्रका आधारमा पर्यटन व्यवसायी एवं सरोकारवालासँग छलफल गरिएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिँदै अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने र पर्यटन प्रवर्धनमा सम्पूर्ण प्रदेशवासी लाग्नुपर्नेमा जोड दिएका थिए । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव जानुका अधिकारीले गरेकी थिइन् भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.