काठमाडौं/
युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ ।
नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो सवा तीन बजे सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको थियो । उक्त खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको हो ।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुनेछ । यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।