काठमाडौं :
उपसना सिंह ठकुरीको मुख्य भुमिकामा निर्माण भएको फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ। आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश गीत सार्वजनिक गरिएको हो।
संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्मको गीतमा एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना सुन्न सकिन्छ। गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ। फिल्मको यो गीतमा फिल्मका मुख्य कलाकार धिरज र उपासनासँग अन्य कलाकारहरु फिचर्ड छन्। रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मले सरकार र तत्कालिन माओवादीबीचको द्धन्द्धले गाउँमा पारेको प्रभावलाई कथावस्तु बनाइएको छ। अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको यो फिल्मको गीतलाई रुकुमको मैकोटमै खिचिएको हो। निर्देशक थापाले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो।
डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले नौ वटा विभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन्। फिल्ममा लगानी विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, न बहादुर धनाह मगर र बेतान मगरको छ । यसका सह–निर्माता सुस्मिता बुढाथोकी हुन्।
सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु),सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ। दीपक बज्राचार्यले यस फिल्मलाई खिचेका हुन्।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ। एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना,राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ। फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ।