सुचना, समाचार र मनोरन्जन

लेखनाथको आर्थिक गतिविधि बढाउन महोत्सव : उपेन्द्र सुवेदी(राजु)

पोखरा ।

लेखनाथमा पुस ५ (हिजो) देखि १९ औं संस्करणको महोत्सव जारी छ । महोत्सवको पनि महोत्सवको रुपमा चर्चा कमाएको लेखनाथ महोत्सव पुस १६ गतेसम्म चल्नेछ । देशको अर्थतन्त्र शिथिल भएको अवस्थामा पनि महोत्सव आयोजना गर्नु आफै चुनौतिपूर्ण विषय हो । तरपनि लेखनाथ उद्योग बाणिज्य संघले यसलाई निरन्तरता दिने प्रयास गरेको छ । सुन्तला प्रदर्शनीदेखि हालसम्मको संस्करणसम्म आइपुग्दा महोत्सवलाई सफल बनाउन लेखनाथबासी एकताबद्ध भएर लागेका छन् । महोत्सव हाम्रो भन्ने भावना सबैमा जागृत भएको छ ।

यस्तैमा लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्र सुवेदी (राजु)ले महोत्सव मार्फत लेखनाथको आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरेका छन् । लेखनाथ महोत्सव लेखनाथबासीको एउटा पर्वको रुपमा विकसित भएको भन्दै पर्यटन, व्यवसायिक र प्रचारप्रसार सँगै आर्थिक विषयमा समेत माथि उठ्ने विश्वास उनको छ । लेखनाथमा उत्पादन भएका वस्तुहरुको बजारीकरण र प्रवद्र्धनमा समेत लेखनाथ महोत्सव सफल साबित हुने उनले बताए । लेखनाथ महोत्सवलाई सबैको साझा चाडको रुपमा, सबैको भेटघाटको थलोको रुपमा आफुले लिएको उनले उल्लेख गरे ।

प्रचारप्रसार संयोजक समेत रहेका सुवेदीले लेखनाथ महोत्सव मार्फत लेखनाथलाई टुरिजम हबको रुपमा विकास गर्न समेत आफुहरु प्रतिबद्ध रहेको बताए । टुरिजमलाई प्रवद्र्धन गर्ने हेतु स्वरुप महोत्सवबाट टेवा पुग्ने विश्वास लिएका छन् ।

लेखनाथ महोत्सव एउटा नामका लागि मात्रै महोत्सव नभइ यहाँ उद्यमी बन्न चाहनेहरुका लागि त्यही अनुसारको वातावरण सिर्जना गर्ने, विभिन्न शिक्षा, औद्योगिक, कृषि, पर्यटनलाई जोड्ने खालका व्यावसायिक क्रियाकलापलगायत एकै स्थानमा सबै खालका उत्पादनदेखि लिएर उपभोग गर्ने उपभोक्ताबीचको सम्बन्धमा एउटा पुलको काम गर्ने थलोको रुपमा विकसित हुँदै गएको भनाई उनको छ । मेलामा आएर अवलोकन गरिदिन सबैलाई उनको आग्रह छ ।

Leave A Reply

Your email address will not be published.