पोखरा,
लायन्स क्लब ३२५ को आयोजनामा महिला नेतृत्व विकाससम्बन्धी एकदिने गोष्ठी पोखरामा सम्पन्न भएको छ। डिस्ट्रिक्ट ३२५ अन्तर्गतको न्यू भोइस इनिसिएटिभद्वारा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थामा आबद्ध महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पोखरा महानगरपालिकाका प्रमुख तथा लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले लायन्स क्लब विशुद्ध सेवामूलक भावनाबाट प्रेरित संस्था भएको बताउनुभयो।
आफू लायन्स क्लबको पूर्व गभर्नरका रूपमा काम गरेको अनुभव सुनाउँदै प्रमुख आचार्यले विश्वका दुई सयभन्दा बढी देशमा फैलिएको लायन्स अभियानले मानव सेवा, सामाजिक उत्तरदायित्व र विश्व शान्तिका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै विभिन्न मानवीय कार्यक्रम सञ्चालन गरिरहेको स्मरण गर्दै उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन स्वयंसेवी संस्थाहरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।
उहाँले लायन्स आन्दोलनले विश्वभर सामाजिक न्याय र मानव अधिकारका पक्षमा योगदान पुर्याएको उल्लेख गर्दै महिलाहरूको नेतृत्व विकास र अवसर विस्तारमा पनि यस्ता संस्थाहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। पोखरा गण्डकी क्षेत्रकै पहिलो लायन्स क्लब स्थापना भएको इतिहास स्मरण गर्दै उहाँले सेवा, समर्पण र नेतृत्वको संस्कारलाई अझ सुदृढ बनाउन सबै सदस्य सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
आचार्यले लायन्स क्लबको नामजस्तै यसका सदस्यहरूमा लक्ष्यप्रति दृढता, समर्पण, लगाव र नेतृत्व क्षमता हुनुपर्ने बताउँदै दया, करुणा र सहयोगी भावना सेवामूलक संस्थाको आधारभूत विशेषता भएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता, महिला अधिकार र सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता बबिता बस्नेतले महिला अधिकार, महिला सशक्तीकरण र महिला जागरणका विषयमा आफ्ना अनुभवहरू साझा गर्नुभयो।
उहाँले अधिकार प्राप्तिका लागि महिलाहरू आफैं नेतृत्वदायी भूमिकामा अगाडि आउनुपर्ने आवश्यकता औँल्याउँदै आत्मविश्वास, प्रभावकारी सार्वजनिक प्रस्तुति र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्ने क्षमता विकास आजको प्रमुख आवश्यकता भएको बताउनुभयो। महिलाहरूले आफ्नो क्षमता पहिचान गरी निर्णय प्रक्रियामा सक्रिय सहभागिता जनाए मात्र समतामूलक समाज निर्माण सम्भव हुने उहाँको भनाइ थियो।
बस्नेतले महिला आन्दोलनले प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्न र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न निरन्तर सिकाइ, संवाद र सशक्तीकरणका कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

गोष्ठीमा लायन्स ३२५ डिस्ट्रिक्ट पब्लिक काउन्सिल चेयरपर्सन मिलन थापा, पूर्व डिस्ट्रिक्ट गभर्नर सुचित्रा थापा, क्याबिनेट सेक्रेटरी लायन जगन्नाथ तिमिल्सिना, लायन वर्ष २०२६/२७ का क्याबिनेट सेक्रेटरी विकास भुर्तेल लगायतले महिला नेतृत्व विकास, सामाजिक सेवा र लायन्स अभियानको महत्वका विषयमा आफ्ना धारणा राख्नुभएको थियो।
आयोजकका अनुसार महिलाहरूमा नेतृत्व क्षमता अभिवृद्धि, सामाजिक उत्तरदायित्वप्रति जागरण तथा विभिन्न क्षेत्रमा उनीहरूको प्रभावकारी सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

