सन्तोष बस्याल
पोखरा ।
प्रोफेसर डाक्टर चन्द्रा भद्रा उमेरले ७० टेकेकी छिन् । तर पनि उनमा सशक्तीकरणका आवाजलाई बुुलन्द बनाउने शक्ति भरिएको छ । समाजमा दबिएर बसेका महिलाहरुलाई उजागर गर्न उनले जीवनको आधा समय खर्च गरेकी छिन् । नेपालमा महिलाहरुको हिजो र आजको अवस्थाका विषयमा रिसर्च समेत गरेको पाइन्छ ।
भद्रा भन्छिन्,“उद्यमशिलता नै महिलाहरुका लागि आयआर्जन गर्ने आधार हो । जसले सामाजिक प्रतिष्ठा समेत बढाउँछ ।” पोखरामा शुक्रबार आयोजना गरिएको गण्डकी प्रदेशको सेवा क्षेत्रमा महिला उद्यमीका लागि लगानी पूर्वाधार तयारी विषयक अन्तरक्रिया कार्यक्रममा उनले भनिन् ,“महिला तथा बालबालिका विकास कार्यालय नै स्थापना गरी सन् २००२ बाट सो क्षेत्रको अध्ययन, अवलोकन र समस्या समाधानका मुद्धाहरु उठेका थिए । सन् २०१८ मा आएर ७५ जिल्लामा नै स्थापना भएको महिला तथा बालबालिका विकास कार्यालय खारेज गरिँदा मन रोयो ।”
समावेशिताका विषय केवल नारामा मात्रै सिमित रहेको भनाई उनको छ । ग्रामीण क्षेत्रमा भएका उद्यमी महिलाहरुको पीरमर्का बुझ्न नसकिरहेको उनले बताइन् । भद्राका अनुसार जबसम्म महिलाहरु संगठीत हुँदैनन् तबसम्म शक्ति प्राप्ती हुँदैन । उनले सन् २००२ देखि २०१८ सम्मको समयअवधि फेरि पुर्नजागृत गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएकी छिन् ।
गण्डकी प्रदेशको तथ्याङ्क हेर्ने हो भने करिब ४५ प्रतिशत महिलाहरु मात्र आत्मनिर्भर छन् । उनीहरु केही न केही व्यापार व्यवसाय गरेर जिविकोपार्जन गरिरहेका छन् । पैसाकै लागि अरुमाथि भर पर्नुपर्ने अवस्था छैन । तर यो नै प्रयाप्त नभएको आयोजक संस्था युरोपियन युनियनकी प्रतिनिधि दिपाञ्जली श्रेष्ठले उल्लेख गरिन् ।
महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष उमा भण्डारीले पोखरामा ३० वर्षदेखि व्यवसायमा आबद्ध भएका महिलाहरु ओटेफ रहेको बताइन् । २०७४ साउन २९ गते महिला पर्यटन व्यवसायी मञ्च गठन भएपछि आफुहरु संगठीत भएर नै लागेको उनले बताइन् । महिला व्यवसायीहरुको स्तर बढाउन ओटेफले विभिन्न समयमा उद्यमशिलता सम्बन्धि तालिमको समेत आयोजना गर्दै आएको छ । महिला व्यवसायीको हकहित र अधिकारका विषयलाई सरोकारवाला समक्ष पु¥याउने जिम्मेबारीका सात ओटेफ अग्रसर रहेको उनले उल्लेख गरिन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले ओटेफले सह्रानिय काम गर्दै आएको बताए । पोखरा पर्यटन परिषदका हरेक गतिविधिमा ओटेफलाई समावेश गरिएको उनले बताए । उनका अनुसार व्यवसाय अब डिजिटल मार्केटिङमा जानुपर्ने उल्लेख गरे । पर्यटनमा सेक्स टुरिजमलाई प्रोमोट गर्नुपर्ने आवश्यकता नरहेको उनले बताए । पोखराको प्राकृतिक सौन्दर्यतालाई आत्मसात् गर्दै यसलाई नै बेच्न सकिने उनले बताए ।
ओटेफकी सल्लाहकार पम्फा पहारीले पछिल्लो समय महिला दिदीबहिनीहरुको आत्मनिर्भरताले गति लिएको बताइन् । ओटेफको स्थापनासँगै महिला दिदीबहिनीहरु घरको चूल्होचौकोमा मात्र सिमित नभएको उनले उल्लेख गरिन् । पर्यटन व्यवसायका हरेक क्षेत्रमा महिलाहरुको क्रियाशिलता चाख लाग्दो छ ।
गण्डकी प्रदेशकी सांसद देवका पहारीले पर्यटन क्षेत्रमा भएका महिलाहरुको पहिचानका लागि ओटेफ महत्वपूर्ण साबित भएको बताइन् । पर्यटन क्षेत्रको प्रवद्र्धनमा ओटेफले उल्लेखनिय काम गरेको भनाई उनको छ । उनले अहिले पनि महिलाहरुले आफ्नो पहिचान बनाउन संस्थाको आवश्यकता रहेको उल्लेख गरिन् । आर्थिक रुपमा सशक्तिकरण बनाउन राज्यले नीति निर्माण गर्नुपर्ने उनले बताइन् । उनले पनि कला, संस्कृति बेचेर नै पर्यटनलाई बढ्वा दिन सकिने सेक्स टुरिजमलाई प्रोमोट गर्नुपर्ने आवश्यकता नरहेको बताइन् ।