काठमाडौं :
यहीँ शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘३६को आँकडा’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक भएको यस फिल्मको ट्रेलरमा अभिनेत्री रेखा थापालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ।
रेखालाई अलिक बढि दर्शकले एक्सन भूमिकामामा रुचाउँदै आएका छन्। फिल्म ‘छत्तीसको आँकडा’मा उनको एक्सन अवतार दर्शकले हेर्न पाउने भएको छन्। झन्डै तीन मिनेट लामो ट्रेलरमा रेखा डीएसपीको भूमिकामा प्रस्तुत भएकी छन्। एउटै परिवारका दिदीबहिनी रेखा र पूजा शर्माबीचको चर्काचर्की फिल्मको कथाजस्तै ‘३६को आँकडा’परेको बुझिन्छ। यद्यपी फिल्म रिलिज भएपछि सबै कुरा खुल्ला। यस फिल्मको ट्रेलरमा मुख्य कलाकार रेखा,पूजासँगै निरुता सिंह आमाको भुमिकामा छिन्। महेश त्रिपाठी र पुष्प खड्काको अभिनय पनि दमदार देखिन्छ।

सवीर श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा रेखा र पूजासहित निरुता सिंह, पुष्प खड्का, महेश त्रिपाठी, निशा अधिकारी, नरेन खड्का, सुवर्ण थापा लगायतका कलाकारको अभिनय छ। यसअघि रेखा,पूजाले ‘उपहार’मासँगै अभिनय गरेका थिए भने यस पटक निरुता पनि थपिएकी छन्।
रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा सवीर श्रेष्ठको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद, ईश्वर सिङ्केमेनाको छायांकन, बनिष शाह र रामप्रसाद चौधरीको सम्पादन तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मलाई सरस्वती थापा,दुर्गा सापकोटा र गीता श्रेष्ठले निर्माण गरेका हुन्। यसअघि रेखाले फिल्म ‘मालिका’मा पनि यस्तै एक्सन भुमिकामा प्रस्तुत भएकी थिइन्।