सुचना, समाचार र मनोरन्जन

भियतनामी नागरिक लुम्बिनी र सगरमाथा आउन इच्छुक

काठमाडौँ/

नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाइले भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक रहेको बताएका छन् ।

बुधबार नेपाल–भियतनाम चेम्बर अफ कमर्सले राजदूत हाइको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत हाइले यस्तो बताएका हुन् ।

राजदूत हाइले भियतनामीहरु नेपालको लुम्बिनी मात्रै नभएर गौतम बुद्धको जन्मभूमि लुम्बीनी तथा अन्य पर्यटकीय क्षेत्रमा आउन इच्छुक रहेको उल्लेख गरे । उनले नेपालमा धेरै पर्यटकीय गन्तव्यहरु रहेको भन्दै नेपालका ट्राभल एजेन्सीहरुले प्रोत्साहन गर्न सक्नुपर्ने बताए । उनले नेपालमा पर्यटनको ठूलो सम्भावनाको क्षेत्र भएकाले दुई देशले पर्यटन प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल बिस्तार गर्न आवश्यक रहेको बताए । उनले नेपाल–भियतनाम कुटनीतिक सम्बन्ध राम्रो रहेको बताए ।

राजदूत हाइले नेपाल–भियतनामको आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल बिस्तार गर्न भियतनाम सकारात्मक रहेको बताए । उनले नेपाल र भियतनाम दुवै देशबीच सिधा उडान गर्ने विषय भिषाका समस्या रहेको बताए । उनले भियतनामले विद्युतीय भिसा जारी गर्ने प्रणाली ल्याएकाले सहज भएको भन्दै नेपालले पनि विद्युतीय भिसा प्रणाली लागू गर्नसके सहज हुने बताए ।

भियतनामका लागि कन्सुलर राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धन गर्न लुम्बिनी–भियतनाम सिधा उडान पहल गरिदिन राजदूत हाइलाई आग्रह गरे । उनले नेपाल–भियतनाम सम्बन्ध थप बिस्तार तथा पर्यटन प्रवद्र्धन गर्न दुवै देशबीच सिधा उडान आवश्यक रहेको बताए । उनले लुम्बिनी–भियतनाम सिधा उडान गर्नसके बुद्धिस्ट सर्किट बिस्तारमा टेवा पुग्ने उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.