सुचना, समाचार र मनोरन्जन

‘यादको कोलाज’को पोखरामा गृहलोकार्पण

पोखरा/

लेखक अमृत क्षेत्रीको दोस्रो कृति ‘यादको कोलाज’को पोखरामा गृहलोकार्पण सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्तले पोखरामा आयोजित एक समारोहमा कृतिको गृहलोकार्पण गरे ।

लोकार्पण कार्यक्रममा प्रमुख अतिथीय मन्तव्य व्यक्त गर्दै सरूभक्तले विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्वहरू साहित्य क्षेत्रमा प्रवेश गर्दा साहित्य निकै बलियो बन्ने कुरा बताएका छन। उनले अमृतको काव्यिक लेखन निकै गहन रहेको र आगामी दिनमा राम्रा कृति पस्कने उच्च सम्भावना बोकेर उपस्थित भएको उल्लेख गरे । लाहुरे पेसासँग नेपाली जीवनको नजिकको साइनो रहेको र अमृतको आगमनपछि पोखराबाट नेपाली साहित्यले पनि लाहुरे जीवनलाई प्रवेश गराएको बताए । नेपाली साहित्यमा विभिन्न क्षेत्रबाट लेखकहरू प्रवेश गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

पुस्तकमाथि समीक्षा राख्दै जीवनसागर भण्डारीले कृतिमा लाहुरे जीवनको प्रतिबिम्ब उतारिएको बताए । लाहुरे जीवनमा रहेको कडा अनुशासनको कारुणिक वर्णन गरिएको सुनाए । लाहुरे जीवनका भर्ती, तालिम, छुट्टी, युद्ध, प्रेम आदि सबै पक्ष समेटी बाह्रओटा शीर्षकमा पुस्तक समेटिएको उनले उल्लेख गरे । प्रकृतिको उदात्त वर्णन कृतिभरि भेटिने उनले बताए । उनले भने – ‘काव्यात्मक भाषाशैलीमा जीवनका भोगाइ र जीवन, जगत्, वस्तु र सत्यलाई फरक तरिकाले व्याख्या गर्ने काम लेखक अमृतले गरेका छन् ।’ युद्धमा व्यस्त लाहुरेले प्रकृतिप्रेमको वर्णन कसरी गर्न सक्छ भन्ने कुराका लागि यादको कोलाज कृति पढ्नुपर्ने उनको ठम्याइ थियो । सरल काव्यिक भाषामा कृति पस्केका अमृतले हरेक शीर्षकको थालनीमा प्रस्तुत गरेको जीवनदर्शन गहन रहेको समेत उल्लेख गरे । यद्यपि कृतिमा लाहुरे जीवनका अन्य गहन पक्षहरूका नखुलेका पाटाहरू रहेको महसुस पाठकले गर्ने बताउँदै आउँदो संस्करणमा त्यसको गम्भीर पक्षलाई समेट्न लेखकलाई सुझावसमेत दिए ।

लेखक अमृतले आफ्नो साहित्यलेखनमा रुचि सानैदेखि रहेको र विषयहरूले नै लेखाउँदै लगेको विचार व्यक्त गरे । सबैको मायाले लेखनतर्फ थप हौसला मिलेको उनको भनाइ थियो ।

कार्यक्रममा विश्लेषक विश्व सिग्देल, कवि रीता अधिकारी ‘ऋतु’, पुछारसिटे अभियानका सल्लाहकार लक्ष्मण थापा, माया पब्लिकेसनका प्रबन्ध निर्देशक विनय दत्तलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अभियन्ता मोहन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा अभियानका संयोजक सञ्जीव पौडेलले लेखक अमृतका बारेमा लेखक परिचय प्रस्तुत गरेका थिए भने अभियन्ता श्रीराम अधिकारी ‘गोर्जे’ले स्वागत मन्तव्य राखेका थिए ।

Leave A Reply

Your email address will not be published.