सुचना, समाचार र मनोरन्जन
Sarangi

किसानहरुको रोजाइमा चिराइतो खेती

भोजपुर/

चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो ।

चिराइतो बिक्रीबाट वार्षिकरुपमा १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवन्द्र राउतले बताए । यस वर्ष आफ्नो बारीमा करिब ६० मन ९४० केजीको एक मन० चिराइतो उत्पादन हुने उनको भनाइ थियो ।

राउतले करिब ६२ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको बताए । ‘हाम्रो ठाउँका धेरै किसानले व्यावसायिक रुपमा चिराइतोको खेती गर्दै आएका छन्’, उनले भने, ‘बालीको तुलनामा यसबाट आम्दानी पनि मनग्य हुने र खेती गर्न पनि सजिलो छ ।’

उनले यस वर्ष करिब ६० मन उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै बजार मूल्य राम्रो भएमा रू १० देखि १५ लाखसम्म आम्दानी हुने जानकारी दिए । यहाँ प्रति किसानले २० देखि ५० मन उत्पादन गर्ने राउतले बताए ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसानको भनाइ छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने उनीहरु बताउँछन् ।

विगतका वर्षका तुलनामा पछिल्लो समय चिराइतोले राम्रो मूल्य पाउने गरेको स्थानीय कृषक प्रेमबहादुर बस्नेतले बताए । ‘यसबाट राम्रो आम्दानी लिँदै आएको छु’, उनले भने, ‘बर्सेनि मूल्यमा वृद्धि भइरहेको अवस्था छ । त्यही भएर पनि धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन् ।’

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने बस्नेतको भनाइ थियो । आलु, मकैबाट ५० हजार आम्दानी गरेकामा सोही बारीमा चिराइतो खेती गर्दा रू पाँचदेखि सात लाखसम्म आम्दानी लिन सकिने उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.