काठमाडौं,
नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाल र फिनल्याण्डबीचको आर्थिक तथा व्यावसायिक साझेदारीलाई थप विस्तार गर्न चेम्बर प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले चेम्बर संवाद गर्ने मञ्चमा मात्र सीमित नभई दुई देशका व्यवसायीलाई जोड्ने र व्यावसायिक सहकार्य अघि बढाउने कार्यस्थलका रूपमा स्थापित हुन चाहेको बताए ।
उनले भने, ‘नेपाल र फिनल्याण्डबीचको व्यावसायिक साझेदारी विस्तार गर्न हाम्रो चेम्बर पूर्ण रूपमा प्रतिबद्ध छ । चेम्बर केवल संवाद गर्ने मञ्च मात्र नभई दुवै देशका व्यवसायीलाई जोड्ने, सहकार्य गर्ने र सँगै अघि बढ्ने वातावरण निर्माण गर्ने थलो हो । दुई देशबीचको सम्बन्धलाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्न हामी सक्रिय रूपमा काम गर्नेछौँ ।’

नेपाल र फिनल्याण्डबीच व्यापार, शिक्षा, संस्कृति तथा अन्य विभिन्न क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भए पनि आर्थिक साझेदारीको सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको उनको भनाइ थियो । दुई देशबीचको विद्यमान सम्बन्धलाई थप आर्थिक उपलब्धिमा रूपान्तरण गर्न चेम्बरले सक्रिय भूमिका खेल्ने उनले बताए ।
त्यस्तै, पर्यटन तथा व्यापारलगायतका क्षेत्रमा लगानी र सहकार्यका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले फिनल्याण्डको नवप्रवर्तन, दिगोपन र प्रविधिसम्बन्धी विशेषज्ञतालाई नेपालको प्राकृतिक स्रोत तथा रणनीतिक अवस्थितिसँग जोड्नुपर्ने बताए ।
उनले भने, ‘ नेपाल र फिनल्याण्डबीच व्यापार, शिक्षा र संस्कृतिका क्षेत्रमा राम्रो सम्बन्ध रहे पनि आर्थिक साझेदारीको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन । पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्यका प्रशस्त अवसर छन् । फिनल्याण्डको नवप्रवर्तन, दिगोपन र प्रविधिसम्बन्धी विशेषज्ञतालाई नेपालको प्राकृतिक स्रोतसँग जोड्न सके दुई देशबीच बलियो आर्थिक साझेदारी विकास गर्न सकिन्छ ।’
अध्यक्ष पाण्डेले नेपाल व्यवसाय र लगानीका लागि खुला रहेको सन्देश दिँदै फिनल्याण्डलाई नेपाली वस्तुको निर्यात गन्तव्यमा मात्र सीमित नराखी ज्ञान आदानप्रदान, डिजिटल प्रविधि हस्तान्तरण र दीर्घकालीन लगानीको साझेदारका रूपमा विकास गर्नुपर्ने बताए ।