सुचना, समाचार र मनोरन्जन

बोर्डको सक्रियतामा फिल्म ‘एक भगवत् गीता’ विवाद मिल्यो : केसी भन्छन्,‘ठुलो दुर्घटना टर्यो’

काठमाडौं :

चलचित्र विकास बोर्डको सक्रियतामा भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’को विवाद साम्य भएको छ। आइतबार दिउँसो बोर्डको हलमा शीर्षक परिवर्तन गर्ने सहमतिसँगै नामलाई लिएर उत्पन्न विवाद सकिएको हो।

बोर्डमा फिल्मकर्मी, फिल्मको टिम र हिन्दूवादी संस्थाका प्रतिनिधिहरुबीच भएको झन्डै ३ घण्टा लामो छलफल चलेको थियो। विवादबाट सहमति के त भन्ने विषयमा छलफल हुँदा फिल्मको नयाँ शीर्षक ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राख्ने कुरामा दुवैतर्फको सहमति भएको थियो।

हिन्दूधर्मका विभिन्न संगठनहरुले एक साता यता फिल्ममा हिन्दू धर्मग्रन्थ ‘श्रीमद्भागवत गीता’को नाममा गलत सन्देश दिन लागेको भन्दै आपत्ति जनाएका थिए । उनीहरुले चलचित्र विकास बोर्ड र सूचना मन्त्रालयमा फिल्मको नाम परिवर्तनका लागि निवेदन समेत दिएका थिए । उनीहरुले नाम नसच्याई फिल्म चलाएको खण्डमा त्यसको क्षति निर्माण टिमले नै लिनुपर्ने उनीहरुको अडान रहेको थियो।

बोर्डका अध्यक्ष भुवन केसीले आफुले फिल्मलाई सेन्सर सिफारिस नदिएको भन्ने समाचार भ्रामक रहेको बताए। उनले आफुलाई फिल्म सेन्सर सिफारिस दिन कुनै आपत्ती नरहेको र त्यो आफ्नो अधिनमा समेत नरहेको हुँनाले आफुले आइतबार (आज)दिन लागेको बताए।उनले फिल्मबा भोलीका दिनमा उत्पन्न हुन सक्ने सम्भाव्य दुर्घटना रोक्नका लागि एक दिन ढिला सिफारिस दिन लागेको समेत जानकारी दिए।

फिल्मको नाम नै परिर्वत गर्ने हो भन्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले भगवत गीताको अगाडी गीता भगवत राखौन भन्ने प्रस्ताव राखेका थिए। यस कुरालाई अर्का निर्देशक दीपेन्द्र के खनालले फिल्मको नाममा ‘एक भगवत एक गीता राखौँ भन्ने प्रस्ताव राख्दा सहमती नजिक पुगेको थियो। पछि धर्म गुरुहरुले सामाजिक कथा थप्न आग्रह गर्दा नयाँ शीर्षक जुरेको थियो।
नयाँ शीर्षकमा सहमति जुटेपछि बोर्ड अध्यक्ष केसीले दुई पक्षबीच भएको सहमतिले भोलि हुनसक्ने ठूलो दुर्घटना टरेको बताए। त्यसैको स्वरुपमा अध्यक्ष केसीले दुवै पक्षलाई खादा लगाएर धन्यवाद व्यक्त दिए ।

निर्देशक झरना थापाले आफ्नो फिल्मले कसैको हानी नोक्सानी तथा कसैमाथी आँच आउने खाल्का दृश्य नरहेको बताइन्। फिल्मको टिजर आएकै समयमा फिल्मको बारेमा कुनै सुझाव आएको भए नाम परिवर्तन गर्न सकिने सम्मको भनाई राखेकी थिइन्। तर, अहिले रिलिजको संघारमा रहेको बेला पुरै नाम परिवर्तन गर्न नभनिदिन आग्रह गरेकी थिइन्।

फिल्मको छलफलमा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का,वरिष्ठ उपाध्यक्ष उदय सुब्बा,अभिनेता दीपकराज गिरी, निर्देशक तथा कलाकार खगेन्द्र लामिछाने, निर्माता तथा निर्देशक कृषा चौलागाईं लगायत केहि पत्रकारहरुको उपस्थिति रहेको थियो । यस फिल्ममा बिपिन कार्की,सुहाना थापा,धिरज मगर लगायत कलाकारको मुख्य भुमिका रहेको छ।

Leave A Reply

Your email address will not be published.