पोखरा,
SAIC MAXUS China को सहयोग तथा Himalaya Organization को समन्वयमा MAXUS Nepal ले नेपालमा हालैको विपद्बाट प्रभावित समुदायहरूका लागि करिब रु. ८० लाख बराबरको राहत सहयोग प्रदान गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत प्रत्यक्ष आर्थिक सहयोगसँगै दिगो स्वच्छ खानेपानीको व्यवस्थापन र आवश्यक राहत सामग्री वितरण गरेको हो।

यस सहयोग अन्तर्गत MAXUS Nepal ले केही दिनअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाखको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेको छ। बाँकी करिब रु. ३० लाख बराबरको सहयोग भने त्रिशूली नदी पारिपट्टिका विपद् प्रभावित क्षेत्रहरूमा प्रत्यक्ष लाभ पुग्ने गरी वितरण गरिएको छ। जस अन्तर्गत दुईवटा होल्डिङ सेन्टरहरूमा स्वच्छ खानेपानीका लागि सौर्य ऊर्जामा आधारित ‘अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गरिनुका साथै झन्डै ४०० जना प्रभावितहरूका लागि अत्यावश्यक राहत सामग्री उपलब्ध गराइएको छ।
स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न प्रतिघण्टा १,००० लिटर पानी शुद्धीकरण गर्ने क्षमता भएका प्रणालीहरू नुवाकोटका दुई विद्यालयमा जडान गरिएका छन्। हाल करिब ३०० परिवार आश्रित नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालय र करिब २०० परिवारले अस्थायी आश्रय लिइरहेका विदुर नगरपालिकाको त्रिशूली प्राथमिक विद्यालयमा यी प्रणाली जडान गरिएको हो। यसबाट अस्थायी आश्रयस्थलमा रहेका परिवारहरूसँगै पछि विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीहरू समेत प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

प्रदान गरिएका राहत सामग्रीहरूमा सुत्नका लागि आवश्यक डसना, सिरानी, तन्ना, औषधि तथा आधारभूत स्वास्थ्य सामग्री, अत्यावश्यक खाद्यान्न, तरकारी, खाना पकाउने भाँडाकुँडाका साथै पुरुष, महिला तथा बालबालिकाहरूका लागि कपडा र अन्य दैनिक आवश्यकताका सामग्रीहरू रहेका छन्। उक्त राहत वितरण तथा वाटर ट्रिटमेन्ट प्लान्ट जडान कार्यमा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापालगायत कर्मचारीहरू र लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापालगायत अन्य पदाधिकारीहरूको प्रत्यक्ष सहभागिता रहेको थियो।