पोखरा,
लायन्स क्लब अफ पोखराले आफ्नो स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण महोत्सव शनिबार भव्यताका साथ मनाउँदै छ । मंसिर ५ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने स्वर्ण महोत्सव समारोहको उद्घाटन प्रतिनिधिसभाका सभामुख डिपी अर्यालले गर्नुहुने कार्यक्रम रहेको छ ।
स्वर्ण महोत्सवका अवसरमा क्लबका संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका अग्रजहरूलाई सम्मान गरिनेछ । साथै, क्लबको पाँच दशक लामो सामाजिक सेवायात्रा, गतिविधि र उपलब्धि समेटिएको स्वर्ण महोत्सव स्मारिका विमोचन गर्ने कार्यक्रमसमेत रहेको छ ।

सन् १९७६ अर्थात् वि.सं. २०३३ सालमा स्थापित लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ तथा तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो लायन्स क्लब हो । क्लबले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, छात्रवृत्ति तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सामाजिक सेवा गर्दै आएको छ ।
क्लबका अध्यक्ष डा. माधव तिवारीले स्वर्ण महोत्सव विगतका योगदानको स्मरण गर्नुका साथै आगामी पुस्तालाई सामाजिक सेवाप्रति प्रेरित गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ ।
क्लबका अनुसार स्वर्ण महोत्सव समारोहको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।