काठमाडौं :
नेपाली भजन संगीतको क्षेत्रमा आध्यात्मिक चेतना, मानवीय संवेदना र जीवन दर्शन बोकेको नयाँ भजन ‘रामले बाटो देखाइदेऊ’ सार्वजनिक भएको छ । नारायण कँडेलको प्रस्तुतिमा तयार भएको उक्त भजन नारायण कँडेल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
शीर्षकमा भगवान् श्रीरामलाई सम्बोधन गरिए पनि यस भजनले श्रीराममा मात्र सीमित नभइ सम्पूर्ण देवीदेवताप्रतिको आस्था,विश्वास र भक्तिभावलाई समेटेको छ । मानव जीवनमा देखिने सांसारिक लोभ, मोह, ईर्ष्या र घमण्डको क्षणिकतालाई उजागर गर्दै अन्ततः संसारबाट केही पनि साथमा लिएर जान नसकिने शाश्वत सत्यलाई गीतमा अत्यन्तै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।

गीतकार नारायण कँडेलले आफ्ना शब्दमार्फत मानव जीवनको वास्तविकता, आध्यात्मिक चेतना र सत्मार्गको महत्वलाई सुन्दर ढङ्गले बुनेका छन् । ती भावपूर्ण शब्दहरूमा कृष्णा आचार्य ‘रोशनी’ले उत्तिकै उत्कृष्ट संगीत भरेकी छन् । शब्द र संगीतको भावनात्मक संयोजनले भजनलाई केवल भक्तिगीतमा सीमित नराखी जीवनलाई बुझ्ने र आत्मसमीक्षा गर्ने एउटा गहिरो सन्देशका रूपमा उभ्याएको छ।भजनमा सूर्य खड्का, देवी घर्ती र कोष खड्काको स्वर रहेको छ। कृष्ण केसीले संगीत संयोजन गरेका छन् भने गोविन्द अनेकले रेकर्डिङ र श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । भजन प्रिज्म स्टुडियोमा तयार गरिएको हो।
भजनको दृश्य निर्माण पक्ष पनि उत्तिकै आकर्षक रहेको छ । भगवान् श्रीरामप्रतिको भक्तिभावसँगै सम्पूर्ण ईश्वरप्रतिको आस्था र आध्यात्मिक परिवेशलाई जीवन्त बनाउन बत्तीसपुतलीस्थित राम मन्दिरको धार्मिक वातावरणमा भिडियो छायांकन गरिएको छ। मन्दिर परिसरको धार्मिक माहोल र सामूहिक सांगीतिक प्रस्तुतिले भजनको भावलाई दृश्यात्मक रूपमा थप जीवन्त बनाएको छ।कृष्णा आचार्य ‘रोशनी’को निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा देवी घर्ती, कोष खड्का, सज्जन हमाल ठकुरी र कृष्णा आचार्य ‘रोशनी’को अभिनय तथा प्रस्तुति रहेको छ। भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका हुन्। भिडियोको पोस्ट प्रोडक्सन एडभेन्चर इन्टरटेनमेन्टले गरेको छ।
भजनले मानिसलाई सांसारिक मोह, अहंकार र क्षणिक स्वार्थभन्दा माथि उठेर प्रेम, सद्भाव, विनम्रता र सत्कर्मको बाटो रोज्न प्रेरित गर्ने सन्देश दिएको छ । जीवनको अन्तिम सत्यलाई आत्मसात् गर्दै ईश्वरप्रति आस्था राख्ने र सही मार्गमा हिँड्ने भाव नै यस सिर्जनाको मूल मर्मका रूपमा प्रस्तुत भएको छ ।