सन्तोष बस्याल
पोखरा ।
गण्डकी प्रदेशको जिल्ला नवलपुरको आफ्नै विशेषता छ । खासगरी त्यहाँ रहेका थारु समुदायको आफ्ना कथाव्यथा छन् । कोहि व्यवसायमा संलग्न छन् त कोहि स्थानीय उत्पादनमा सक्रिय भएर लागिरहेको पाइन्छ । उसो त दैनिक गुजाराका लागि सांस्कृतिक पक्षलाई अंगाल्नेहरु पनि भेटिन्छन् । पोखरामा जस्तो नवलपूरमा पनि महिला दिदीबहिनीहरु समूह नै बनाएर हस्तकलामा लागिपरेका छन् । उनीहरुले उत्पादन गर्ने वस्तुहरु देशका ठूला शहरमा बजारीकरण समेत हुने गरेको छ ।
यस्तैमा, पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले पोखरामा सोमबारदेखि आयोजना गरेको तीज सांस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा तथा उद्यमी मेलामा नवलपुरको समूहले स्टल नै राखेको छ । जहाँ नवलपुरमा हुने उत्पादनको प्रदर्शन गरिएको छ । त्यहाँ पाक्ने परिकारको पोखराबाटै स्वाद लिन पाइएको छ ।
विगत ६ वर्षदेखि हस्तकला व्यवसायमा सक्रिय नवलपुर कावासोतीका करण महतोका अनुसार महिला दिदीबहिनीहरुले ब्याग, ट्रे, हटकेस, टीम्याट, चकटी र डस्बिन सामूहिक रुपमा नै उत्पादन गर्दै आएका छन् । यस्तै पुरुष समूहबाट हात्ती, गैडा, गोही लगायतका जंगली वन्यजन्तुको स्टाचु निर्माण हुने गरेका छन् । उत्पादन मात्रै नभई बजारीकरणमा पनि ख्याल गरिएको छ । नवलपुरको थारु समुदायले उत्पादन गर्ने वस्तुहरु काठमाडौं, पोखरा, चितवन लगायतका शहरहरुमा बिक्रीवितरण हुने गरेको छ । तीज सांस्कृतिक महोत्सव मार्फत पनि आफुहरुले उत्पादन गरेको वस्तुको बजारीकरण गर्ने अवसर मिलेको अभिव्यक्ति महतोको छ ।
नवलपूरमा थारु गाउँ एग्रो रिर्सोट संचालन गर्दै आएकी गीता महतोले हस्तकलामा लाग्दा आत्मसन्तुष्टि मिल्ने गरेको बताइन् । उनका अनुसार हस्तकला आनन्दको पेशा हो, गर्न सके यसबाट राम्रै लाभ लिन सकिन्छ । नवलपुरका थुप्रै दिदीबहिनीहरु घरमै बसेर पनि आम्दानी गरिरहेको उनले सुनाइन् । पोखरामा हुने उत्पादन र नवलपुरमा हुने उत्पादनको बजारीकरणमा समन्वय गर्न सकिए दुवै ठाउँको स्थानीय उत्पादनबाट लाभ लिन सकिने उनले उल्लेख गरिन् ।
नवलपुरका महिलाहरु घरको कामसँगै फुर्सदको समय हस्तकलालाई दिने गरेका छन् । घर खर्चका लागि अरुप्रति आश्रित हुनुपरेको छैन । चुलो चौको हुँदै व्यवसायमा सक्रिय छन् त्यहाँका महिला दिदीबहिनी ।
हस्तकलामा लाग्दा मेहेनत अनुसारको प्रतिफल भने प्राप्त नहुने गरेको करण बताउँछन् । लगानी भन्दा पनि मेहेनत बढी लाग्ने र उचित बजारीकरण नहुँदा स्थानीय उत्पादनमा कठिनाइ आउने गरेको उनी सुनाउँछन् । कच्चा पदार्थको अभावमा हस्तकलाका सामाग्री उत्पादन गर्न समस्या आएको भनाई उनको छ ।
पोखरा आएर आशा गरेको जस्तो व्यापार नभएता पनि यहाँको आतिथ्यताले लोभ्याएको तर्क नवलपुरका स्थानीयको छ । आर्थिक आम्दानी नभएता पनि नवलपुरको पहिचान झल्काएर सबैबाट माया पाएको गीता महतो बताउछिन् ।
गण्डकी प्रदेशका अन्य जिल्लाको वस्तु स्थितिका विषयमा समेत जानकारी पाउँदा खुशी लागेको उनीहरु बताउछन् । अनदिको चामल बाफबाट पकाउने र घुँघीलाई तरकारीको रुपमा खाने चलन थारु समुदायमा छ । उनीहरुले खाने रोटीलाई ढिक्री भनिन्छ । शान्तिको प्रतिकका रुपमा सेतो रंगलाई उनीहरु बढी प्रयोग गर्छन् । सांस्कृतिक पहिरनमा समेत सेतो रंगको प्रयोग बढी हुन्छ ।
तस्विर : प्रेम थापा, परिचय