सुचना, समाचार र मनोरन्जन

पोखरामा सामुदायिक विद्यालय छोराछोरी पढाउने अभिभावकको निःशुल्क बिमा

 

कास्की : पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बिमा कार्यक्रम सुरुआत गरेको छ ।

 

सरकारी विद्यालयप्रति आकर्षण वृद्धि गर्नका लागि चालू आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै निःशुल्क हुने उनले बताए ।

 

वडाध्यक्ष  बास्तोलाले भने, ‘सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हामीले काम गरिरहेका छौँ । सोहीअनुसार वडामा स्थायी बसोबास रहेका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको बिमा गर्नेछौँ ।’

 

पोखरा–१२ मा अमरसिंह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय गरी तीन  विद्यालय छन् । यी विद्यालयमा चार हजार तीन सय विद्यार्थी अध्ययन गर्दछन् । पारिवारिक बिमा कार्यक्रमबाट सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि गर्ने र वडावासीको स्वास्थ्यमा पहुँच समेत बढाउने अपेक्षा गरिएको वडाध्यक्ष वास्तोलाले बताए ।

 

चालु वर्षमा बिमा कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरिएको वडाले जनाएको छ । स्वास्थ्य विमा कार्यक्रममा वार्षिक तीन हजार पाँच सय प्रिमियम तिरेर परिवारका पाँच जना सदस्यले एक लाख बराबरको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था रहेको छ । बिमा प्रिमियम बापतको रकम वडाले भुक्तानी गर्नेछ ।

 

बिमा कार्यक्रममा सहभागिताका लागि वडामा स्थायी बसोबास खुल्ने अभिभावकको नागरिकता, विद्यालयका सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि सहित निवेदन आह्वान गरिएको वडा सचिव शारदा सापकोटाले बताइन् ।

 

यसैगरी वडाले चालु वर्षदेखि सामुदायिक विद्यालयहरूमा संस्कार शिक्षा पाठ्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयहरूमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गरिएको हो । वडाध्यक्ष बास्तोलाले अन्य निजी विद्यालयहरूमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको जानकारी दिए । उनले भने, ‘हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षण सँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो ।’

Leave A Reply

Your email address will not be published.