काठमाडौं :
पछिल्लो समयकी व्यस्त र चर्चित अभिनेत्री हुन्, मिरुना मगर । म्युजिक भिडियोमा होस् वा फिल्ममै किन नहोस्, मिरुनालाई अफरको ओइरो आइरहेको छ । ‘हिजोआज आफ्नै लागि समय छैन’ मिरुनाले एक कार्यक्रममा भनिन्, ‘तर, सम्मानका साथ आउने कामका प्रस्तावलाई शिरोधार्य गर्दै आएकी छु ।
यिनै व्यस्त मोडल तथा अभिनेत्री यो साता भक्तपुरको दरबार क्षेत्रमा देखिइनु् । जहाँ उनी गणेशमान घलेसँग रोमान्स गरिरहेकी थिइन् । गणेशमान पनि अहिले चलेका मोडल हुन् । ‘जारी’ जस्ता ब्लकस्टर फिल्मकी अभिनेत्री र म्युजिक भिडियोमा छाइरहेका गशेणमानलाई आँखै अगाडि पाउँदा भक्तपुर दरबार क्षेत्रमा स्थानीय दंग मात्र भएनन्, उनीहरुलाई हेर्नेको भीड नै लाग्यो । त्यो भीडले पनि मिरुना र गणेशमानको क्रेजलाई पुष्टि गर्दैथियो ।
त्यो संयोग थियो, एउटा म्युजिक भिडियो सुटिङको, जहाँ चर्चित गायिका रमला पाख्रिनको नयाँ गीत ‘धुन’को छायाँकन हुँदैथियो । त्यही धुनले जुराएको थियो, मिरुना र गणेशमानबीच रोमान्स गर्ने मौका ।
गायिका रमलाले सुटिङ भइरहेकै बेला भनिन्, ‘यो मेरो महत्वकांक्षी गीत हो, त्यसैले सकेसम्म राम्रो भिडियो निर्माण गर्ने प्रयास गरेकी छु ।’
‘म्हेन्दोमाया’ भाकाका लागि चर्चित रमला नेपाली गीत पनि राम्रो गाउँछिन् । तर, उनी म्हेन्दोमाया भाका बढी गाउँछिन् । ६ सयभन्दा बढी गीतका गायिका रमलाले जति पनि गीत गाएका छन्, ती सबै लोकप्रिय छन् । ‘धुन’ उनको पछिल्लो नेपाली भाषाको गीत हो, जसमा युवामा जागृत प्रेमभाव झल्काइएको छ । उक्त गीतको भावअनुसार नै ‘धुन’मा मिरुना र गणेशमानलाई स्क्रिन–प्ले’ गर्दै थिए, निर्देशक राजेश पुमा राई ।
‘यो रोमान्टिक लभसङ हो’, निदेशक पुमाले एक्शन कट गर्दागर्दै भने, ‘गीतको भावअनुसार मिरुना र गणेशमानलाई प्रेमजोडीका रुपमा प्रस्तुत गर्दैछु ।’
उनले जतिसक्दो चाँडो उक्त भिडियो दर्शकमाझ ल्याउने पनि जानकारी दिए । गायक कमल खत्रीको शब्द र संगीत रहेको ‘धुन’का रमलालाई स्वरमा पनि साथ दिएका छन् । कमल खत्री लभसङका लागि युवा श्रोतामाझ चर्चित छन् । ‘म्हेन्दोमाया साम्राज्ञी’ रमलासँग युगल गाउन पाउँदा खुसी लागेको कमलले सुनाए ।
उनले भने, ‘सुटिङ पनि राम्रो भएको छ, अवश्य पनि यो गीतलाई दर्शकले रुचाउँनेछन् ।’ बिहान ६ बजेदेखि सुरु भएको सुटिङ साँझ ७ बजे प्याकप गरेर टोली काठमाडौं फर्केको थियो ।