सुचना, समाचार र मनोरन्जन

चौथो सातामा ‘लालीबजार’ : देशभर पायो १ सय ६० शो

काठमाडौं :

गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि चौथो सातामा प्रवेश गरेको छ। चौथो सातामा प्रवेश गर्दै गर्दा अन्य नयाँ नेपाली फिल्म भन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ । फिल्मले देशभर एक सय ६० शो पाएको छ।

पहिलो दिन एक सय ८० शो पाएको फिल्मले चौथो सातामा प्रवेश गर्दै झनै दर्शकको साथ पाएको छ । फिल्म प्रदर्शन भएदेखि नै निरन्तर दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिईरहेका अभिनेता रवीन्द्रसिंह बानियाँले परिवार नै दर्शक बनेर हल आउने क्रम बढिरहेको बताए।

उनले भने, ‘हाम्रो कानूनी विवादले गर्दा फिल्म परिवारले हेर्न मिल्दैन की भन्ने दर्शकमा परेको रहेछ, त्यसैले पहिला धेरै दर्शक एक्लै हेर्न आउनुभयो । फिल्म त परिवारले नै हेर्नु पर्ने रहेछ भन्ने लागेपछि अहिले दर्शकहरू आफ्नो परिवार नै लिएर हल आउनुभएको छ । विहिबार मात्र हल भिजिटका क्रममा भक्तपुरमा एउटा १८ जना र अर्को १७ जनाको परिवार भेटका थियौँ, अहिले फिल्म हेर्न तीन पुस्ता नै हलमा आउनुभएको छ ।’
उनले हजुरबुवादेखि नातीपुस्तासम्म हलमा भेटिएको बताए । चौथो सातामा प्रवेश गरेको फिल्म ‘लालीबजार’ ले शुक्रबारका लागि नेपालभर १ सय ४० शो पाएको छ । चौथो साताको शुक्रबार र शनिवार फिल्मले प्राप्त गरेका अधिकाँस शोहरूमा दर्शकको चाँप बढ्नुका साथै शोहरू हाउसफुल हुँदैछन् । अभिनेता बानियाँले नेपालभरबाट दर्शकको माया उस्तै पाएको बताए ।

उनले भने, ‘म नेपालभरका मुख्य सहरमा पुगेर दर्शक भेटेर फर्किएँ, हामीलाई जुन विश्वास गरेर दर्शक आउनुभएको छ, फर्किंदा समय र पैसाको सदुपयोग भयो भन्ने लागेको छ । फिल्मले आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई दर्शाएको थियो, त्यसलाई आम दर्शकले राम्रोसँग बुझ्नुभयो । फिल्मले काठमाडौँ र मोफसलमा उस्तै व्यापार गरेको छ, यसले पनि हामीले नेपालभरबाट एकसाथ माया पाएका छौँ ।’

यम थापाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले फिल्मले १० करोडको आंकडा पार गर्ने विश्वास प्रदर्शकको छ । ‘लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । फिल्म हेरेर निस्किने अधिकाँसले आफ्नो आँखा रसाएको र आमाको सङ्घर्षसँग आफू ‘कनेक्ट’ भएको प्रतिक्रिया दिएका छन् । दर्शकले दिइरहनुभएको ‘वर्ड अफ माउथ’ले तेस्रो साताको विकेन्ड फिल्मका लागि सुखद भएको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।

विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

Leave A Reply

Your email address will not be published.