पोखरा ।
नेपाली कफीको बजारीकरण गर्ने उद्देश्यले पोखरामा दुई दिने कार्यक्रमको आयोजना गरिने भएको छ । अक्टुबर १३ र १४ अर्थात् यही शुक्रबार र शनिबार पोखरा लेकसाइड स्थित क्रिस्टल महल अम्बोट मार्गमा हुने कार्यक्रमको नाम ‘पोखरा ब्रेवर्यस कप’ राखिएको छ । लेकसिटी कफी, सीसी जीट्टे«स क्याफे क्याफिन, दि हाईव र मनोकामना बिन्स एण्ड जुसबारले कार्यक्रमको संयुक्त रुपमा आयोजना गरेको हो ।
कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट आएका कफीको प्रदर्शन गरिने आयोजक मध्येका एक सुवास केसीले जानकारी गराए । उनका अनुसार कफीकै विषयमा प्रतिस्पर्धा पनि हुनेछ । जसमा २० जना प्रतियोगीले सहभागिता जनाउनेछन् ।
बजारमा कफी सप बढ्दो भएता पनि कतिपयलाई कफीका विषयमा नै जानकारी नभएको तर्क उनको छ । नेपाली कफीको बजारीकरणमा फाइदा पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे । नेपाली कफीको विषयमा बुझाउन कार्यक्रम मार्फत मदत पुग्ने विश्वास आयोजकको छ ।
कफी क्याफेमा बसेर मात्रै खाने चीज नभई लिभिङ स्टान्डर्ड पनि हो भन्ने विषयलाई बुझाउन पोखरामा कार्यक्रम गरिएको उनले बताए । युवा व्यवसायीलाई नेपाली कफी प्रति आकर्षित गराउने लक्ष्य आयोजकको छ ।
पोखरामा मात्रै नभई नेपालमा नै नेपाली कफी भनेर भारतीय बिन्सहरु मिसावट गरिन्छ । “बाहिरबाट कफी नआओस् भन्न खोज्या होइन आएका कफीमा गुणस्तरियता हुनुपर्यो । नेपालमा उत्पादित कफी बाहिर जानुपर्यो । नेपाली कफीको बजारीकरणमा नै सुदृढिकरण आयो भने किसान मर्काबाट बच्ने थिए ।”, उनले भने ।