सुचना, समाचार र मनोरन्जन
Sarangi

घर आउँदै कन्दरा, मंसिर १६ गते पोखरामा सांगीतिक कार्यक्रम

आफुले गाएको गीत “विदेशिनु लेखियो कर्मैमा, भाला रोपी नबोल मर्मैमा...” को भाव जस्तै केही समय परदेशिएका कन्दराका गायक विवेश श्रेष्ठ अब घर फर्किएका छन् । भन्छन्,“२६ वर्ष अगाडि सरुभक्तको शब्द र सुनील थापाको संगीतमा गाएको गीतको भाव जस्तै विदेशिन बाध्य बनाएको थियो । तर आज घर फर्केको छु । संगीत क्षेत्रबाट विलिन हुन मन मानेन । पुर्नआगमन आफ्नै ठाउँ पोखराबाट हुँदैछ ।”

सन्तोष बस्याल

पोखरा ।

प्राकृतिक र साँस्कृतिक विविधताले सिँगारिएको सुन्दर पर्यटकीय सहर पोखरा साहित्य, कला, सङ्गीत, संस्कृति, पर्यटन र व्याण्डहरुको अघोषित राजधानी हो । भूस्वर्गको टुक्रा मानिने यही पोखरामा सन् १९९२ को शरद्कालीन याममा लोकपप गीत सङ्गीतलाई मन पराउने तन्नेरीहरूको समूहले कन्दरा ब्याण्ड जन्माएको हो । कन्दराले अहिलेसम्म ६ वटा एल्वम र सयौँ गीत साँगीतिक बजारलाई दिइसकेको छ । मुलुकभित्र र मुलुकबाहिर गरी २ सयभन्दा बढी कन्सर्ट सम्पन्न गसिकेको छ । कन्दराले गितारको झङ्कार झङ्क्रित गरेको बेला जन्मिएको बच्चा आज युवा भएर कन्दराकै लोकपप शैलीका गीत/सङ्गीतलाई सुसेल्ने भइसकेको छ ।

कन्दरा अब आफ्नो नाम जस्तै पोखरा आसपासका पहरा, प्राकृतिक गुफा, ओडार, सुरुङ्ग, पहाडी प्रदेशका उपत्यका, गाउँबेँसी र मधेशमा मात्रै सीमित छैन् । यसको आयाम र आयातन घरदेशदेखि नेटो काटेर अन्तर्राष्ट्रिय मञ्चसम्म फैलिएको छ । कन्दराका गीत सङ्गीतलाई मन, मष्तिस्क र मगजमा राख्ने लाखौं स्रोता र माया गर्ने शुभचिन्तक बनिसकेका छन् ।

कन्दराको अर्गानिक विशेषता भनेको आफ्नै शब्दमा सङ्गीत सिर्जना गर्दै, स्थापित स्रष्टाका शब्दलाई धुन भर्दै हृदयस्पर्सी आवाजमा बुलन्द गरी स्रोताको मन जित्नु हो । लोकपप शैलीमा रमणीय प्राकृतिक परिवेशको चित्रण, माया पिरतीका भाका, मानिसका विवशता, देशप्रेमको भावनाले ओतप्रोत भएका गीतहरु गाउनु कन्दरा व्याण्डको मौलिक स्वाद हो ।

सन् १९९५ मा पहिलो एल्वम चन्चले कान्छी, गीत÷सङ्गीतको दुनियाँमा आएपछि कन्दराले पछि फर्किनै परेन । यो एल्वमको टाइटल गीत चन्चले कान्छी को सफलता नै कन्दराका लागि कोशेढुङ्गा सावित बन्न पुग्यो । १९९६ मा डाँडापारि एल्वमको लेककी हे माया, तिमीपारी र विदेशिएर गइन उनी गीतले माया, प्रेम र वियोगको विम्ब स्रोताको दिलमा सजाइ दियो । १९९८ मा हङकङ पोखरा एल्वमको टाइटल गीत हङकङ पोखरा ले भौगोलिक रूपमा कन्दरा पोखरामा मात्रै नभएर प्रवासी नेपालीहरू समक्ष आफ्नो व्याण्ड भएर दरियो । सन् २००६ मा वषौंपछि एल्वमको तगारोमा रुमाल राखी गीतले लोकपपको स्वादलाई साँदेको गुन्द्रुकको अचारजस्तै ट्वाक्क जनजिब्रोमा झुण्डिने बनायो । ९ वर्ष कन्दराले आफूलाई थप साधना र अभ्यासमा लगाई पाँचौं एल्वम भेँडीगोठैमा स्रोतालाई जिम्मा लगाउँदा गुणात्मक फड्को मा¥यो कन्दराका एल्वम र आवाजले दर्जनौं पुरस्कार र सम्मान पाउँदै आफ्ना प्रभाव कायम राखिरहेको छ ।

नेपालबाट पहिलो पटक भारतको नागाल्याण्ड र सिलोङ्गमा एकल कन्र्सट गरेर सिमापारी आफ्नो वर्चस्व कायम गरिसकेको छ । जापान, हङकङ, सिङ्गापुर, दक्षिण कोरिया, अष्टे«लिया, लण्डन र युरोपका विभिन्न ठाउँमा कन्दराले आफ्नो पहिचान दिइसकेको छ । घरदेश र परदेशका २ सय भन्दा बढी मञ्चहरुबाट प्रस्तुति दिएर आफ्ना लाखौं स्रोता र दर्शकलाई गीतसङ्गीतको लयलिपिमा आवद्ध गरेको छ । आज भन्दा ३०/३२ वर्ष अघि पोखरेली संगीत मात्र नभई सिङ्गो नेपाली लोकपप संगीतमा आफुलाई अब्बल ठहराएको कन्दरा अब पुनर्संरचना सहित घर फर्कदैछ । माटोको ममताले लयमा फर्काउँदै छ कन्दरालाई ।

आफुले गाएको गीत “विदेशिनु लेखियो कर्मैमा, भाला रोपी नबोल मर्मैमा…” को भाव जस्तै केही समय परदेशिएका कन्दराका गायक विवेश श्रेष्ठ अब घर फर्किएका छन् । भन्छन्,“२६ वर्ष अगाडि सरुभक्तको शब्द र सुनील थापाको संगीतमा गाएको गीतको भाव जस्तै विदेशिन बाध्य बनाएको थियो । तर आज घर फर्केको छु । संगीत क्षेत्रबाट विलिन हुन मन मानेन । पुर्नआगमन आफ्नै ठाउँ पोखराबाट हुँदैछ ।”

कन्दराको पुर्नसंरचनामा संगीतकर्मी समेत फेरिएका छन् । नेपालका चर्चित संगीतकर्मीहरुको आगमन कन्दरामा भएको छ । लामो समय देखि नेपाली संगीतमा क्रियाशील हरि महर्जन कन्दरामा समावेश भएका छन् । उनको जादुमय गितारको ट्युनिङ सँगै कन्दराको लय मिल्नेछ । युवा माझ चर्चित गितार वादक देव लामा, वेस गितार वादक पङकज झा र ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ ठहरिएका सुन्दर महर्जन कन्दरामा समावेश भएको श्रेष्ठले उल्लेख गरे ।

कन्दराको व्यवस्थापकिय जिम्मेबारी आदि ग्रुपले लिएको छ । जसका परिकल्पनाकार हुन् आशिष पराजुली । २० वर्षदेखि इभेण्ट म्यानेजमेन्टको क्षेत्रमा क्रियाशिल उनी कन्दरा सँग ७ वर्ष अगाडि नै जोडिएका हुन् । आशिष भन्छन् ,“७ वर्ष अगाडि देखि नै म कन्दरा सँगै छु । कन्दराको सम्भावना अझै रहेकाले सम्पूर्ण व्यवस्थापकिय पाटोलाई आदि गु्रपले सम्हाल्नेछ । कन्दरा भनेकै अब आदि गु्रप र आदि गु्रप भनेकै कन्दरा हो ।”, उनले भने ।

कन्दराका मेरुदण्ड हुन् सुनील थापा । विवेक र सुनील सँगै स्कुल पढ्ने साथी भएकाले पनि दुवैको परिकल्पनामा कन्दराको उदय भयो । सुनीलको संगीतमा विवेकको आवाजलाई सबैले रुचाएकै छन् । सुनीलका अनुसार कन्दराको स्थापनाकाल देखि अहिलेसम्म थुप्रै आरोह—अवरोह बेहोर्नुपरेको छ । धेरै उताडचढाव पार गर्दै कन्दरा यहाँसम्म आइपुगेको हो । दुखले जन्माएको कन्दराको पुर्नआगमनले पोखराको संगीत क्षेत्रमा एक किसिमको झंकार उत्पन्न गर्नेमा उनी विश्वस्त छन् ।

७३ वर्षको इतिहास बोकेको रेडियो नेपालमा कन्दराले ५ वटा गीतहरूको ‘वान टेक रेकर्डिङ र सुटिङ’ सम्पन्न गरेको छ । गीतकार आनन्द अधिकारीको शब्द रचना रहेको विचारा म…..यसको ज्वलन्त उदाहरण हो । जुन गीत आगामी शुक्रबार सार्वजनिक हुनेछ ।

पुनर्संरचनापछिको कन्दरा पहिलो पटक घर आउँदै छ, यही मङ्सिर १६ गतेको पोखरेली साँझलाई साँगीतिक न्यानोपन दिन् । पोखराबाट पहिले घरदेश अनि परदेश…., घरदेश घुमौँ पर्यटनको प्रवद्र्धन गरौँ भन्ने मूल उद्घोषका साथ देशका सातै प्रदेश र मुख्य सहरमा साँगीतिक कार्यक्रम गरी राजधानी काठमाडौँमा कन्दरा साँगीतिक क्रियात्मक अभियानको मैजारो हुने छ । अनि त्यसपछि नेपाली जनमन रहेको मुग्लान र परदेशका सहरमा सन्देशमूलक साँगीतिक कार्यक्रम लिएर संसारभर कन्दराले पखेँटा फिजाउने उद्धेश्य राखेको छ । सङ्गीत अन्तर्राष्ट्रिय भाषा त हुँदै हो, निराशाको निवारक र तनावको उपचारक पनि । यो साँगीतिक अभियानलाई सार्थकता दिन पर्यटन उद्यमका पौरखी संस्थाहरूको छाता सङ्गठन पोखरा पर्यटन परिषद्ले आयोजकको गहन भूमिका निर्वाह गरी नेपालको पर्यटनलाई मलजल गर्दै चलायमान र गतिशील बनाउने अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी गराए ।

कन्दराका गायक विवेक श्रेष्ठ र संगीतकार सुनिल थापा

Leave A Reply

Your email address will not be published.