सुचना, समाचार र मनोरन्जन
Sarangi

२४ घण्टामा १ लाख जनाले उपत्यका छाडे

काठमाडौँ/

दशैँको मुख्य दिन नजिकिएसँगै काठमाण्डौ उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख जनाले उपत्यका छाडेका छन् । आज शुक्रवार बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक गाडीमार्फत पछिल्लो २४ घण्टामा एक लाख जना बाहिरिएका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । योसँगै घटस्थापनापछि आजसम्म चार लाख ६६ हजार जना दशैँ मनाउन काठमाण्डौ उपत्यका छाडेर गएका उनले बताए ।

घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने मानिसको सङ्ख्या बढ्न शुरु भएकोमा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिए । उनका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।

असोज ३० गते ७३ हजार आठ सय ९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन् । निजी गाडीमार्फत जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै जनाले उपत्यका छाडेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.