काठमाडौं :
नेपाली फिल्म निर्माता र हलवालाबीचको लडाई पुरानो हो। तर, हिजोबाट ‘दिमाग खराब’को अडानले अन्त्य गरिदिएको छ। प्रदर्शनरत ‘दिमाग खराब’टिमले पहिलो र दोस्रो हप्तामात्र नभई हलमा चलुन्जेल ५० प्रतिशत नै शेयर पाउनुपर्ने अडान राखेपछि हिजोबाट हलवालाले दिने कुरामा सहमत भए। बुधबार र बिहिबार बसेको बैठकले अब हलमा लागेका फिल्मलाई ५० प्रतिशत दिने कुरामा सहमत जनाएका हुन्। कार्तिक २४ गतेको दिन देखि आगामी शुक्रबार रिलिजको तेस्रो हस्तामा प्रदर्शन भइरहेको छ।
४ करोड लगानीमा बनेको यो फिल्मले दोस्रो हप्तासम्म ७ करोड कलेक्सन गरेको जानकारी दिएको छ। फिल्मले तेस्रो हप्तामा प्रवेश गरेपछि लगानी उठाउने पक्का भइसकेको छ। फिल्मका निर्देशक निश्चल बस्नेत डुब्दै गरेको नेपाली फिल्मको अवस्थालाई ‘लुट ’जस्तो हिट फिल्म बनाएर नेपाली रजतपट नयाँ युगमा फर्काएका थिए। उनै निर्देशकले नेपाली निर्माताको हकका लागि हलवालासँगको लडाईमा ५० प्रतिशतकै शेयरमा बाँड्नुपर्ने अडान राखेपछि ‘लुट’ दोस्रो कोशेढुँगा निर्माण गरिदिएका छन्। उनको समर्थनमा निर्माता संघ समेत लागेको थियो।
यसअघिका सेयर बाँडफाँडमा निर्माताहरूले आफ्नो फिल्म तेस्रो हप्ता पुग्दा ३५ प्रतिशत र हलवालाले ६५ प्रतिशत लिने गरेका थिए। अब भने यसको अन्त्य भएपछि अधिकांश निर्माता तथा फिल्मकर्मी खुशी देखिएका छन्। सामाजिक सञ्जालमा निर्देशक बस्नेतलाई बधाई दिनको ओइरो लागेको छ।