सन्तोष बस्याल
पोखरा ।
पोखरामा यःमरीलाई व्यवसायिकीकरण गर्न महोत्सवको आयोजना गरिएको छ । नेवाःमिसा पुचः कास्कीको आह्वानमा पोखरा महानगरपालिका वडा नं. ४ को आयोजनामा भएको चौथो यःमरी सांस्कृतिक महोत्सव यःमरीको व्यवसायिकीकरणका लागि गरिएको जनाइएको छ । महोत्सव पोखरा ४ मिसाः पुचःहरुको संयोजन एवम् व्यवस्थापनमा गरिएको हो ।
महोत्सवमा यःमरी बनाउने प्रतियोगिता सँगै विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा ४ ले वर्षौदेखिको संस्कारलाई जोगाउने कार्य गरेको बताए । उनले शताब्दी देखि चलिआएको पर्वको मर्मानुसार अगाडि बढ्न आयोजित यःमरी महोत्सवले प्रवद्र्धन सँगै व्यवसायिकीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । २६ कुरियाले बसोबास गरेर सुरु गरेको पोखराको गणेशटोलको आफ्नै मौलिकता रहेको बताउँदै आचार्यले भाषा, साहित्य र कलालाई संरक्षण गर्ने दायित्व सबैको भएको उल्लेख गरे ।
उनले भने, “हजुरबुबा पुस्ताले जानेका संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम यस्ता महोत्सवले गरेका छन् । पोखरा सांस्कृतिक थलो हो । हाम्रा संस्कारले हामीलाई चलायमान बनाएका छन् । पर्यटनको राजधानीका रुपमा पोखरालाई घोषणा गर्ने तयारी अगाडि बढिरहेका बेला यस्ता महोत्सव साहयक सिद्ध हुन्छ ।”
सम्पदा जोगाउन महानगर नीति बनाउन तर्फ लागिरहेको भनाई उनको छ । पुरानो स्वरुपलाई नबिगर्ने गरी गणेश टोलमा भएका पुराना घरहरुको संरक्षण गर्न महानगर तयार भएको उनले बताए ।
सिद्धार्थचोक देखि विन्ध्वासिनी सम्मको क्षेत्रलाई ऐतिहासिक महत्वपूर्ण थलोको रुपमा विकास गर्दै लैजाने र त्यसको प्रवद्र्धन समेत गरिने उनले बताए । यसका लागि भक्तपुर र ललितपुरमा सम्पदा जोगाउन कसरी काम भइरहेको त्यसको अध्ययन भइरहेको मेयर आचार्यले जानकारी गराए ।
पोखरा ४ का अध्यक्ष देवकृष्ण पराजुलीले संस्कृतिको प्रवद्र्धनका लागि र यःमरीलाई बजारीकरण र व्यवसायिकीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । यस्तो महोत्सवले स्थानीयलाई प्रोत्साहन मिल्ने भनाई उनको छ । वडा विकासका लागि आफु स्थानीय सँग मिलेर काम गरिरहेको भनाई उनको छ । वडामा भएका सबै जातजाति, भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि आफु सदैव तयार रहेको उनले बताए । अहिले एक दिने महोत्सवको आयोजना गरिएता पनि भोलीका दिनमा महोत्सवको अवधि बढाउँदै लैजाने उनले बताए ।
यःमरी महोत्सवमा पोखराको चर्चित ब्याण्ड लक्ष्य ब्याण्ड, कुमारी नृत्य, नेवारी नृत्य लगायतको सांस्कृतिक प्रस्तुति राखिएको थियो ।
यःमरीको महत्व
नेवाःमिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्रचार्य भन्छिन्,‘यःमरी पुन्हिको दिन धानलाई पुजा गर्यो भने घरमा अन्न अभाव हुँदैन भन्ने मान्यता रहिआएको छ । पुजा गरिसकेपछि चार दिन त्यतिकै राखिन्छ । चार दिन पछि विवाह भएका छोरीचेलीहरुलाई बोलाएर प्रसाद बनाएर खुवाउने चलन छ । पुन्हि पूर्णिमाको रातलाई इंकित गर्दै यःमरी बनाइन्छ । यःमरीको आकारको अर्थ छ । यःमरीलाई पंचतत्वको रुपमा पनि मान्दै आइएको छ । यःमरीको खाली ठाउँ आकाश, पृथ्वी र अग्नीको रुपमा चाकु र तापमा तीललाई लिने गरिन्छ । चिसोका बेला चाकु खायो भने शरिरमा ताप बढ्छ । यःमरी पूर्णिमाको अघिल्लो रात तयार गरिन्छ । यःमरी पहिलो भित्र्याएको धानलाई कुटेर बनाइने गरिन्छ । धानबाट चामल निकाली पिसाउने र सुकाउने गरिन्छ । त्यसपछि फेरि कुटेर मसिनो बनाइन्छ र तातोपानीमा मुसेर तयार गरिन्छ ।’