सुचना, समाचार र मनोरन्जन

‘पुजार सार्की’हेरेपछि हिसिला यमी भन्छिन्,‘ फिल्मले काँग्रेस,एमाले,माओवादीले भन्दा महान् क्रान्ति गर्यो’

काठमाडौं :

गत जेठ १० गतेबाट हलमा लागेको फिल्म ‘पुजार सार्की’ प्रदर्शनरत रहेको छ। प्रदर्शनरत फिल्म ‘पुजार सार्की’लाई विभिन्न राजनीतिक दलका शिर्ष नेताले पनि हेरेका छन्। बुधबार पूर्व मन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले पनि यो फिल्म हेरेकी छन्। उनले हालै फिल्म हेरेपछि नेपालका राजनीतिक दलहरूले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति ‘पुजार सार्की’ले गरेको टिप्पणी गरेकी छन्।

काठमाडौंको गोङ्गबुस्थित बिएसआर हलमा यो फिल्म हेरिसकेकी फिल्म निकै मन परेको र आफ्नो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित थुप्रै नेताहरूले यो फिल्म हेर्नुपर्ने बताईन्।

Chaka Panja

यता फिल्म हेरेर निस्कँदै गर्दा उनलाई धन्यवाद दिन फिल्मका निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, अभिनेता आर्यन सिग्देल,अभिनेत्री अञ्जना बराइली लगायत हलमा पुगेका थिए। टिमलाई प्रतिक्रिया दिँदै यमीले छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्ने बताईन्। उनले यो चलचित्रले दिएको सन्देशलाई आफूले महान् क्रान्तिको रूपमा लिएको दाबी समेत गरिन्।

उनले भनिन्,‘महिलाको हक हितको लागि महिला मात्र बोलेर हुँदैन, पुरुषले पनि साथ दिनुपर्छ। त्यस्तै, छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्छ र आर्य खसहरूले आफ्नै विरुद्ध लड्नुपर्छ अनि मात्र परिवर्तन सम्भव छ। अहिलेको अवस्थामा दलित मुक्तिको आन्दोलन दलितले मात्रै गरेर हुन्छ भनेर पुग्दैन। परम्परागत राजनीतिक पार्टी काँग्रेस, एमाले वा माओवादी सबैले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति ‘पुजार सार्की’ले गरेको छ।’

उनले थपिन्,‘अहिले आर्थिक रूपमा असाध्यै तल परिरहेको अवस्थामा मानिसको मनोबल तल गिरिरहेको छ। यस्तो अवस्थामा नेपाली चलचित्रकर्मीहरूले हामीलाई घचघचाउने विषयहरू ल्याईराख्नुभएको छ। ’पुजार सार्की’ चलचित्रले राजनीतिक रूपमा नै छुवाछूतको समस्या समाधान गर्न सकिन्छ भन्ने कुराले हामीलाई राहत दिएको छ। यो विषय अत्यन्त सही तरिकाले यो चलचित्रमा प्रस्तुत गरिएको छ। समाज सुधारको सन्दर्भमा अहिले प्रदर्शन भइरहेका चलचित्रहरूलाई राजनीतिक दल भन्दा पनि उच्च स्थानमा राखेको छु।’

यमीको प्रतिक्रिया सुनेपछि अभिनेता आर्यन सिग्देलले नीतिमा छुवाछूत गर्न नपाइने रहेको तर नियत खराब भएकाहरूको कारण यो समस्या यथावत् रहेको जनाए। ‘यस कारण गैर दलितले नै छुवाछूत हुनु हुँदैन भनेर यस फिल्मबाट आन्दोलन छेड्नु परेको हो,’उनले भने।
फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख भूमिका रहेको छ।

Leave A Reply

Your email address will not be published.