पोखरा /
चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौंमा चौंथो सेड्युलको छायांकन धमाधम भैरहेको छ। अबको ४ दिनसम्म यो सिनेमाको काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक पन्तले बताए।
‘यो सिनेमाको अन्तिम सेड्युल हो। ४ दिनमा सिनेमाको सम्पूर्ण छायांकन सकिनेछ। त्यसपछि हामी पुर्ण रुपमा सिनेमाको प्रचार प्रसार तथा पोष्ट प्रोडक्सनको काममा लाग्ने छौं’, निर्देशक पन्तले बताए। सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरु गरिएको सिनेमाको साँझ सोही ठाउँमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो।
सिनेमाकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले बलिउड सिनेमा ‘गजनी’ भिलेन प्रदीप रावत र दक्षिण भारतीय सिनेमा ‘पुष्पा’को भिलेन सुनिल वर्माको पार्टको छायांकन अहिले चलिरहेको जानकारी दिइन्। उहाँहरु छायांकनको लागि नेपाल आएको बेला मिडियासँग पनि साक्षात्कार गरौं भन्ने उद्देश्यले पनि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको उनले बताइन्।
बलिउड सिनेमा ‘गजनी’ भिलेन प्रदीप रावतले आफुले सिनेमामा अभिनेत्री नीता ढुंगानाको पिताको भुमिकामा अभिनय गर्न लागेको बताए। यसअघि भोजपुरी सिनेमा ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै नीता राम्रो कलाकारसँगै निर्माता समेत रहेको अनुभव सुनाए । निर्देशक चन्द्र पन्तलाई नेपाली सिनेमाको कोहीनुर भन्दै स्टन्ट मास्टरबाट निर्देशक बन्दासम्मको यात्रालाई प्रदीपले पत्रकार सामु प्रस्तुत गरेका थिए।
यस्तै, दक्षिण भारतीय सिनेमा ‘पुष्पा’का भिलेन सुनील वर्माले पनि नेपाली सिनेमामा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । सिनेमाको स्कृप्ट अनुसार सिनेमा पनि उत्कृष्ट बन्ने विश्वास रहेको भन्दै यो सिनेमाले नेपाली सिनेमालाई भारतीय सिनेमा उद्योगसँग जोड्ने पुलको काम गर्ने बताए । साथै, ‘ह्रस्व दीर्घ’ नेपालको पहिलो प्यान इन्डिया सिनेमा भएकाले यसलाई भारतीय दर्शकमाझ लैजान उत्साहीत रहेको सुनाए।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुनेछ । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।