पोखरा/
पोखरा महानगरपालिका वडा नंं २६ का महिला तथा आमा समूहमा आवद्ध महिलाहरुका लागि क्षमता विकास सम्वन्धी तिन दिने तालिम मंगलबार सम्पन्न भएको छ ।
तालिम समापनमा बोल्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले शिप र ज्ञानको हस्तान्तरणले महिलाहरुको क्षमता अभिबृद्धिमा सहयोग पुग्ने विश्वास लिएको बताए छन् ।
अध्यक्ष थापाले आगामी आर्थिक बर्षका लागि वडा नं. २६ मा महिलाहरुले नै योजना तर्जुमा गरेको उल्लेख गर्दै, आगामी दिनमा वडामा हुने सार्वजनिक सरोकारका कार्यक्रम चलाउने गरी तयारी गर्न आग्रह गरे ।
क्षमता विकासका लागि अन्यत्रसँग डुब्लिकेसन नहुनेगरी कार्यक्रम निर्माण गर्न आग्रह गर्दै, अध्यक्ष थापाले वडाका हरेक गतिविधिमा नविनता आउनु पर्नेमा जोड दिए ।
अध्यक्षता थापाले तीन दिनको तालिमले ज्ञान र वाककला तथा उद्घोषणका लागि उर्जा प्राप्त भएको उल्लेख गर्दै, अभ्यासलाई निरन्तरता दिन आग्रह गरे । महिलाहरुको नेतृत्वमा इमान्दारीता हुने भएकाले, वडाका हरेक गतिविधिमा हातेमालो गर्न आग्रह गरे ।
कार्यक्रममा प्रशिक्षक एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले वडाले दिएको अवसर उपयोग गर्न आग्रह गर्दै, २०८४ मा महिलाहरुले नेतृत्व लिनसक्ने गरी आफुलाई परिस्कृत गर्न सुझाव दिए । श्रेष्ठले महिलाहरुमा क्षमता भएपनि निरन्तर साधना नहुँदा विचारहरु अभिव्यक्त हुन नसकेको उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा नंं २६ का वडा सदस्य लक्ष्मीदेवी भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, तिर्थ बहादुर राजभाट, वडा सचिव लिलामणि भण्डारी, सहभागिताको तर्फबाट संगिता के.सी र विष्णु ढकालले तालिम उपयोगी भएको बताए । तालिममा प्रशिक्षकका रुपमा संचारकर्मी दिपेन्द्र श्रेष्ठ, सरिता तिमिल्सेना पगेनी, जमुना बर्षा शर्मा, घनश्याम पाण्डे, संजय मल्ल, नवराज सापकोटा वडा नंं २६ का कर्मचारी इन्दिरा रेग्मीले सहजीकरण गरेका थिए । तीन दिनसम्म संचालन भएको तालिममा वडाका विभिन्न महिला, आमा समूह र टोल विकास संस्थाका गरी ५२ जनाको सहभागिता रहेको थियो ।