पोखरा /
‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ का वर्ष पुरुष र महिला खेलाडीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत २८ वैशाखमा उक्त अवार्ड समारोह गरेको थियो । जसमा पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल र महिलातर्फ आइटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर विजेता बनेका थिए ।
उनीहरुलाई मञ्च अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइरालाले मंगलबार स्कुटर हस्तान्तरण गरेका हुन् । कुमाल हाल अभ्यासका लागि भारत रहेकोले सो पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ ले ग्रहण गरे ।
मञ्चले बर्सेनि आयोजना गर्दै आएको स्पोर्टस् अवार्डमा यसपालि ७ विधामा अवार्ड वितरण गरिएको थियो । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट क्लब र खेल पत्रकारिता पुरस्कारसमेत प्रदान गरिएको थियो ।
मञ्च अध्यक्ष बरालले खेलाडीको मनोबल उच्च राख्न तथा खेलप्रति आकर्षित गर्न अवार्डले महत्वपूर्ण भूमिका खेलेको बताए ।
टेल्जी नेपालले स्कुटर प्रायोजनमा सम्झौता गरेको थियो ।