गुल्मी/
गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घासको रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक पढ्न चाहने विद्यार्थीको भर्ना गरिदिने भएको छ ।
उक्त क्याम्पसमा स्नातक तह पहिलो वर्षमा भर्ना हुन चाहनेको शुल्क तिरिदने नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
क्याम्पसमा विद्यार्थी संख्या वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले भर्ना शुल्क तिरिदिन लागेको हो । क्याम्पसले स्नातक प्रथम वर्षको भर्ना शुल्क ६ हजार १५० रुपैयाँ तोकेको छ । नगरपालिकाले यस वर्ष ३०० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको नगरप्रमुख पन्थीले बताए।
नगरपालिकाले यसअघि क्याम्पस आर्थिक संकटमा परेको भन्दै १ करोड रुपैयाँ सहयोग गरेको थियो । सदरमुकाम तम्घासमा समुदायबाट सञ्चालित क्याम्पसमा पछिल्लो समय विद्यार्थी भर्ना हुने दर घट्दै गएको छ ।
हाल रेसुङ्गा बहुमुखी क्याम्पसमा विभिन्न तहमा ७७९ जना विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए।
स्नातक तह र स्नातकोत्तर तह अध्यापन गराउदै आएको क्याम्पसमा पढ्न मासिक शुल्क ९५० रुपैयाँ लाग्ने क्याम्पसले जनाएको छ ।
रेसुङ्गा नगरपालिकाले एसईईमा ३ दशमलव २ जीपीए ल्याएर उतीर्ण गरेर नगरपालिका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि मासिक १ हजार रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ ।