सुचना, समाचार र मनोरन्जन

‘नेपालको शान्ति प्रक्रियाको काम विश्वमै उच्चकोटीको छ’: डा.भण्डारी

काठमाडौँ/

सत्तारुढ नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शान्ति प्रक्रियाको काम विश्वमै उच्चकोटीको रहेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाबाट टीआरसी (संक्रमणकालीन न्याय सम्बन्धी) विधेयक पारित गरेलगत्तै उनले सञ्चारकर्मीसँग सो प्रतिक्रिया दिएका हुन् ।

सांसद भण्डारीले सो विधेयक विश्वकै शान्ति प्रक्रियाका लागि अघि बढाउने उच्च स्तरको अनुकरणीय दस्ताबेजको रूपमा आएको दाबी समेत गरे । नेपालको शान्ति प्रक्रियालाई अघि बढाउनका लागि नेताहरूले लिएको सुझबुझपूर्ण निर्णयप्रति आफूले खुलेर प्रशंसा गर्ने गरेको पनि उनको भनाई थियो ।

सांसद भण्डारीले नेपालले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि गरेको प्रयास विश्वकै नमुनायोग्य रहेको पनि बताए ।

उनले भने, ‘नेपालको शान्ति प्रक्रिया र त्यो समयमा हाम्रो नेताहरूले गरेको सुझबुझपूर्ण जो दुई वटा कुरा छ । यो विश्वको अनुकरणीय र अत्यन्त उच्चस्तरको हो । यो कुरा हामीले पहिलो बुझ्नुपर्छ । कुनैपनि देशमा यत्रो हिंसा भएर १७ हजारभन्दा बढी मानिस मारिएर, विस्थापित भएर, अंगभंग भएर यति राम्रो सेटल दुनियाँमा कहीँ पनि भएको छैन, संसारमा कहीँ पनि भएको छैन । यो पहिला नेपालमा हो । यसमा हामीले गर्व गर्नुपर्छ ।’

यता, प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले शान्ति प्रक्रियाको बाँकी तार्किक निष्कर्षमा पुग्ने गरी सो सम्बन्धी विधेयक आएको दाबी गरे । उनले विज्ञहरूको सुझावसहित आएको सो विधेयक आफैँमा महत्त्वपूर्ण र ऐतिहासिक भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा दलहरूले जोड दिनुपर्ने पनि बताए ।

प्रमुख सचेतक परियारले सो विधेयकमा उल्लेखित विषयवस्तुलाई कार्यान्वयनमा लैजाने कुरामा केन्द्रित हुनुपर्ने आवश्यकता पनि औँल्याए ।

उनले भने, ‘हामीले धेरै लामो समयदेखिको अनुभव, कानुन विद्हरुसँगको सल्लाह, माननीय सदस्यहरूसँगको निरन्तर छलफलले गर्दा तुलनात्मक रूपमा सबैभन्दा राम्रो एउटा संक्रमणकालीन न्याय सम्बन्धी यो विधेयक आएको छ । यसले शान्ति प्रक्रियामा बाँकी रहेका काम अगाडि बढाउँछ भन्ने विश्वास लिएका छौँ ।’

प्रमुख सचेतक परियारले विधेयकमा लामो समयदेखि अनुभव समेत समेटिएकाले पीडितले न्याय पाउने कुरामा पनि शंका गर्न आवश्यक नरहेको जिकिर गरे ।

Leave A Reply

Your email address will not be published.