कठमाडौँ /
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयात ( निर्यात घटेको छ भने व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनमा आयात सामान्य घटे पनि निर्यात उच्चदरले घट्दा व्यापार घाटा बढ्न गएको हो ।
साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात र १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको साउनमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको आयात र १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँको निर्यात भएको थियो ।
विभागको तथ्याङ्कअनुसार एक महिनामा कुल व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजार रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा साउन महिनाको व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ बराबरको थियो ।
साउनमा १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्ष साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।