काठमाडौं :
गीतमा स्वर सुनिने तर मान्छे नचिनिएकी गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसदमा कुरा उठेको छ। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका हुन्। उनले गायिका माझीको स्वरको प्रशंसाा गर्दै गुमनाम रहेकी गायिकालाई कुनै उपाय भए उनलाई सार्वजनिक गर्न सरकार समक्ष राखेका हुन्।
संसद बैठकमा उनी भन्छन् ‘मैले देख्छु विष्णु माझीलाई उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेक मनले भनेको छ । कुनै उपाय छ भने, धारणा छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस् ।’
हरेक वर्ष उनका तीजका गीतले तहल्का मच्चाउदै आएका छन्। गायक तथा सर्जक सुन्दरमणी अधिकारीसँग विवाह बन्धनमा बाँधिएपछि गुमनाम बनेकी गायिका माझी सार्वजनिक हुन नचाहेको बेला बेलामा सवाल हुन्छ। उनले यस कुरालाई मध्यनजर गर्दै सांसद भण्डारीले आफुले यो माग राखेर आफूले गायिका माझीको अधिकार हनन् नगरेको समेत बताए। उनले विष्णु माझीले गत साता ल्याएको चर्चित गीत ‘आइन आमा यो तीजैमा’को प्रशंसा समेत गरे।