सुचना, समाचार र मनोरन्जन

मुगुमा स्याउखेतीः व्यापारी गाउँमै पुग्दा किसानले पाए राम्रो मूल्य

मुगु,

हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ । तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा भारी गिरावट आएको छ । एकातिर उत्पादन घटे पनि गाउँ–गाउँमा सडक सञ्जाल जोडिएसँगै व्यापारीहरू बगैंचामा पुग्न थालेपछि कृषकहरूले विगतका वर्षहरूको दाँजोमा स्याउको राम्रो मूल्य भने पाएका छन् ।

स्याउ फुल्ने समय (चैत–वैशाख) मा मुगुका ३ दर्जनभन्दा बढी स्थानमा आएको हावाहुरी र असिनापानीले फूल झारेका कारण उत्पादनमा असर परेको हो । जिल्लाका ताल्चा, कालापाल्त, ढुम, मैथु, रोवा, घट्टलेख, शोभा, तलिलेख, चिमाथ, पापु, बाम, सोरुकोट, धैन, कालै, सिड्डि, अमाले, लुमेरा, कोटीला, सेरी, जाम, रासकोडीबाडा लगायतका पकेट क्षेत्रमा उत्पादन घटेको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई मुगुका प्रमुख तेजबिक्रम मल्लका अनुसार जिल्लाको कुल क्षेत्रफल ३ हजार ५ सय ३५ वर्ग किलोमिटरमध्ये १६ हजार ७ सय ६३ हेक्टर खेतीयोग्य जमिन छ । जिल्लाभर ७ सय ३० हेक्टर जमिनमा स्याउ खेती हुने गरेकोमा हाल ४ सय ५ हेक्टरमा मात्रै स्याउ फल्ने गरेको छ ।

यो वर्ष २ सय ६५ हेक्टर जमिनबाट २ हजार ४ सय मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष २ हजार ४ सय ५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष व्यापारी प्रयोजनका लागि कृषकले बगैँचामै प्रति किलोग्राम ६५ रुपैयाँका दरले २ सय २१ मेट्रिक टन स्याउ खरिद–बिक्री गरेका छन्। आफन्तलाई नासो, व्यक्तिगत प्रयोजन र खुला बिक्रीसमेत गरी कुल १ करोड ८० लाख रुपैयाँभन्दा बढीको स्याउ कारोबार भएको छ । प्रमुख मल्लले विगतमा स्याउ राम्रो फले पनि मूल्य कम पाउने गरेकोमा यो वर्ष उत्पादन कम भए पनि कृषकले राम्रो मूल्य पाएको बताए ।

Pach Pandav

स्याउको मूल्य राम्रो पाइए पनि प्राकृतिक प्रकोपले उत्पादन घटाएपछि कृषकहरू चिन्तित छन् । छायानाथ रारा नगरपालिका–४ का कृषक हरी बहादुर भामले भने, ‘यही स्याउ खेतीबाट घरखर्च, बालबालिकाको पठनपाठन र अन्य जोहो गर्दै आएका थियौँ। यो वर्ष उत्पादन कम भएर निकै समस्या भयो ।’

उनका अनुसार स्याउ बिक्री गर्ने समयमा वर्षाका कारण सडक सञ्जाल बन्द हुँदा उत्पादन भएका थोरै स्याउ पनि घरमै थन्किएका छन् । राज्यका तीन वटा तहका सरकारबाट आत्मनिर्भर बन्न खोज्ने कृषकहरूलाई कुनै पनि किसिमको सहयोग नमिलेको उनको गुनासो छ ।

असिनापानी र हावाहुरीले झार्न बाँकी रहेका स्याउ बिक्री गर्न लाग्दा वर्षाका कारण सडक अवरुद्ध भएको थियो। स्थानीय सरकारले गमगढीदेखि शोभासम्मको बन्द सडक नखोलाउँदा गाउँमा लाखौँ मूल्यका स्याउ घरमै थन्किएका छन् । गाउँमा शीतभण्डार ९स्टोर० र गोदामको अभावमा कृषकहरूले खुला गोठहरूमा स्याउ थुपार्नुपरेको छ । कतिपय स्याउ आफन्तलाई नासो दिनुपर्ने र कुहिएर गाईवस्तुलाई कुँडो बनाउनुपर्ने बाध्यता रहेको छायानाथ रारा नगरपालिका वडा नं. १२ का कृषक हुकुम बुढाले बताए ।

उनले भने, ‘कृषकले उत्पादन गरेर मात्र के गर्नुरु स्थानीय सरकार र अन्य कुनै निकायबाट समयमा राहत वा निकास नपाउँदा स्याउ मात्र होइनस आलु, मुला, बन्दा, चौती (चौंरी वा स्थानीय तरकारी), काउली, सिमी लगायत अन्य अन्नबाली तथा तरकारी समयमा बजारसम्म पुर्‍याउन नपाउँदा कृषकले थप सास्ती भोग्नुपरेको छ ।’

सडक सञ्जालको नियमित सञ्चालन, शीतभण्डारको व्यवस्था र समयमै बजारसम्म पहुँच पुग्न सके मात्रै हिमाली क्षेत्रका कृषकहरू कृषिबाटै आत्मनिर्भर बन्न सक्ने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.