काठमाडौं :
उपन्यासकार नारद पोखरेलको नयाँ औपन्यासिक कृति ‘उर्वरा’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा (प्रमुख अतिथि), कथाकार माया ठकुरी लगायतका अग्रज व्यक्तित्वहरुले कृतिको लोकार्पण गरेका हुन्।
नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा आयोजित सो लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले ‘क’देखि ‘ज्ञ’ सम्मका बैग्लाबेग्लै अग्र शब्दबाट शीर्षक राखेर नेपाली आख्यान साहित्यमा उपन्यासकार पोखरेलले सफल प्रयोगात्मक लेखन गरेकोमा बधाई दिए। उनले ‘उर्वरा’ मार्फत प्रयोग गरिएको आख्यान लेखनको नवीन शैलीले नेपाली साहित्यमा एउटा मानक इँटा थपेको बताए।
कथाकार ठकुरीले शुभकामना दिँदै एउटा सर्जकले साहित्यका माध्यमबाट आफूलाई अभिव्यक्त गर्ने बताए।
यता कृतिमाथि पाठकीय टिप्पणी गर्दै अनुपमा रेग्मीले कुनै पनि उपन्यासलाई महाकाव्य बोकेको विधा भन्न मिल्ने बताए। उनले ‘उर्वरा’ आदर्शवादी उपन्यास भएको बताउँदै उपन्यास पठनीय बनेको र यस कृतिमा पाठकले आख्यानात्मकता प्रचुर मात्रामा पाउने तर्क गरे। कार्यक्रममा उपन्यास समाजका अध्यक्ष शंकर भारतीले ‘उर्वरा’ले ५० वर्षअघिको र आजको समयलाई जोड्ने काम गरेको बताए।
उपन्यासकारका भाइ भेषराज पोखरेलले आफ्नो सारा परिवार साहित्यनिकट रहेको बताउदै दाजुको स्वभाव खरो भए पनि उपन्यासमा पाठकले कोमलता भेट्नेमा दाबी गरे। कृतिकार पोखरेलले उपन्यास जीवनजगत्को अभिलेख भएको बताउँदै साहित्यकार बीपी कोइरालासँगको छोटो सानिध्यले आफूलाई यसमा लाग्न प्रेरित गरेको बताए। कार्यक्रममा समाजका संरक्षक पवन आलोक, साहित्यकार विधान आचार्य, गीतकार संघका अध्यक्ष वसन्त थापा, माधव विडारीलगायत व्यक्तिले मन्तव्य राखेका थिए। पोखरेलको यो चौथो उपन्यास हो । उनले यसअघि ‘नयाँ बाटो’, ‘सिर्जना’ र ‘प्रतिघात’ उपन्यास बजारमा ल्याइसकेका छन्।