यहि मंसिर १५ गते बिहान पोखरा रंगशालामा हुने हिमालय ध्यान योग शिविरमा सहभागी हुन महर्षि श्रीशिवकृपानन्द स्वामीजी पोखरा पाल्नुभएको छ।
पोखरा महानगरपालिका पर्यटकीय राजधानी पोखरामा स्वामीजीलाई स्वागत गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ध्यानयोग मार्फत आध्यात्मिक पर्यटनको प्रवद्र्धन गरी पोखराको पर्यटन तथा समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने कुरामा महानगरपालिका विश्वस्त रहेको बताए ।

हिमालय क्षेत्रमा ध्यानयोगको संस्कार प्राचीन समयदेखि चलिआएको छ। हाल विश्वभर फैलिएको ध्यान योग साधनाका लागि हजारौँको संख्यामा ध्यान केन्द्रहरु स्थापना भइरहेका छन्। हिमालय ध्यान योगका लागि नेपाल विशेष रूपमा उत्कृष्ट रहँदै आएको छ। हिमालयको काखमा अवस्थित पोखरा ध्यान योगका लागि उत्कृष्ट गन्तव्यका रूपमा परिचित हुँदै गइरहेको छ। नेपालको पर्यटन राजधानी पोखरालाई आध्यात्मिक चिन्तन र स्वस्थ जीवनशैलीका लागि ध्यान योगको विस्तारका लागि पोखरा महानगरपालिकाले विभिन्न संघसंस्थाहरुसँग साझेदारी गर्दै आइरहेको छ।

महर्षि श्रीशिवकृपानन्द स्वामीजीको सक्रियतामा विश्वका विभिन्न क्षेत्रहरूमा गुरुशक्तिधाम निर्माण भइरहेको र यसै क्रममा प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्धितिय सङ्गम, हिमालय ध्यान योगका लागि अनुपम, नेपालको पर्यटन राजधानी पोखराको सेरोफेरोमा समेत गुरुशक्तिधाम निर्माण गर्न स्वामीजी मार्फत निर्देशन भएको र स्थानीय सरकारको रूपमा यस कार्यमा आवश्यक सहजिकरणका लागि पोखरा महानगरपालिका तत्पर रहेको छ।

स्वामीजीको अवागमनले पोखराको आध्यात्मिक चिन्तन र स्वस्थ जीवनशैली प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।