आलेख/हिराबहादुर कार्की
सभ्यताको विरोधाभास: विकास र प्रविधिको अभूतपूर्व उचाइका बाबजुद मानव संवेदना, आन्तरिक सन्तोष र प्रकृतिसँगको तादात्म्य कमजोर बन्दा आधुनिक समाज अस्तित्वगत सङ्कटतर्फ धकेलिएको छ।आन्तरिक क्रान्तिको पर्व: नवरात्रि केवल बाह्य देवी पूजा वा कर्मकाण्डीय अनुष्ठान मात्र होइन; यो आफूभित्रको अज्ञान, अहंकार र आसुरी वृत्तिका विरुद्ध विवेकको खडा प्रहार गर्ने आन्तरिक आत्मशुद्धिको साधना हो। दिव्यत्वमा पुनर्मिलन: अहंकारको विसर्जन, पञ्चतत्त्वप्रतिको कृतज्ञता र करुणाको विस्तारबाट मात्रै मानव चेतना संकीर्ण स्वार्थबाट मुक्त भई आफ्नै मूल उद्गम दिव्य महासागरमा पुनः समाहित हुन सक्छ।
पृष्ठभूमि तथा विषय प्रवेश
नेपाली संस्कृति र सनातन जीवनदर्शनमा चाडपर्वहरू केवल उत्सव र रमाइलोका माध्यम मात्र होइनन्; यी त मानव जीवनलाई प्राकृतिक चक्र, नैतिक मूल्य र आध्यात्मिक चेतनासँग जोड्ने जीवन्त सेतु हुन्। शरद ऋतुको निर्मल आकाश, प्रकृतिको रमणीय वातावरण र उल्लासमय परिवेशका बीच आगमन हुने नवरात्रि नेपालीहरूको लोकजीवन र सांस्कृतिक चेतनासँग गहिरोसँग गाँसिएको महापर्व हो।
नवरात्रि मूलतः आदिशक्ति भगवती दुर्गाको उपासना र आराधनाको पावन अवसर हो। तर, यसको दार्शनिक दायरा बाह्य पूजा, उपवास वा मन्दिरको परिक्रमामा मात्र सीमित छैन। नवरात्रि आफ्नै अन्तरात्माको गहिराइमा प्रवेश गर्ने, आफूभित्र झाँगिएका अज्ञान र अहंकारका अन्धकारलाई पहिचान गर्ने र मानवताको मूल बाटोबाट विचलित भइरहेको आधुनिक जीवनलाई पुनः सत्य, न्याय र धर्मको शाश्वत मार्गमा फर्काउने पावन साधना हो।
यो पर्व शक्तिको प्रदर्शन वा केवल शक्ति अर्जनको माध्यम होइन; प्राप्त शक्तिको विवेकपूर्ण, मर्यादित र कल्याणकारी उपयोग कसरी गर्ने भन्ने दिव्य शिक्षा लिने समय हो। देवीको चरणकमलमा भौतिक पुष्प अर्पण गर्नुभन्दा आफ्नै हृदयको मानसरोवरमा करुणा, विवेक, संयम, सहअस्तित्व र प्रेमका पवित्र पुष्पहरू फुलाउनु नै नवरात्रिको वास्तविक मर्म हो।
आदिशक्तिको भव्य आराधना गरिरहँदा आजको आधुनिक मानव समाजले आफैँतर्फ फर्किएर एउटा गम्भीर दार्शनिक प्रश्न सोध्नु आवश्यक भएको छ के हामी साँच्चै मानव बनेका छौँ? अथवा, मानव शरीर र स्वरूप धारण गरेर पनि मानवताकै मूल स्वभाव, करुणा र चेतनाबाट दिनप्रतिदिन टाढिँदै गएका छौँ? जीवनको भौतिक यात्रामा भौतारिनु वा पथभ्रष्ट हुनु मानव स्वभावभित्रको एउटा कमजोरी हुन सक्छ, तर हाम्रो मूल गन्तव्य र सत्यको बाटो त एउटै छ, र त्यो अन्तिम सत्य भनेको आत्मशुद्धि, मानवताको पुनरुत्थान र दिव्यत्वतर्फको पुनरागमन नै हो।
आधुनिक सभ्यताको विरोधाभास : भौतिक समृद्धि र आन्तरिक दरिद्रता
आजको २१ औँ शताब्दीमा ज्ञानको विस्फोट भएको छ। विज्ञानले कल्पनातीत उचाइहरू हासिल गरेको छ, सूचना र सञ्चार प्रविधिले भूगोलका दूरीहरूलाई मेटाइदिएको छ र भौतिक विकासले मानव जीवनलाई अभूतपूर्व सुविधा र आराम प्रदान गरेको छ। तर, यही भौतिक र प्राविधिक प्रगतिको समान्तर रेखामा एउटा गहिरो र भयावह विरोधाभास पनि फस्टाइरहेको छ।भौतिक सुविधा र विलासिताका साधनहरू बढ्दै जाँदा मानिसभित्रको आत्मिक सन्तोष र मानसिक शान्ति द्रुत गतिमा घटिरहेको छ।आर्थिक समृद्धि र भौतिक सम्पत्ति थपिँदै जाँदा मानवीय संवेदना, परोपकार र करुणाका भावनाहरू कमजोर बन्दै गएका छन्।बाह्य जगत् र विशाल ब्रह्माण्डलाई जित्ने अनियन्त्रित होडबाजीमा लाग्दा मानिस आफ्नै अन्तरात्माको आवाजबाट विच्छेदित र टाढा हुन पुगेको छ।
हामीले विज्ञानको बलमा आकाशको उचाइ नाप्न र अन्तरीक्षमा पाइला टेक्न त सिक्यौँ, तर जुन पृथ्वीले हामीलाई जीवन दिइरहेकी छिन्, उनलाई सम्मान र संरक्षण गर्न बिर्सियौँ। हामीले प्रकृतिका गूढ रहस्यहरू त खोल्दै गयौँ, तर प्रकृतिसँगै लय मिलाएर बाँच्ने सनातन रहस्यलाई उपेक्षा गर्यौँ। हामीले सम्पूर्ण संसारलाई आफ्ना असीमित इच्छा र आवश्यकताअनुसार तोडमोड गर्न खोज्यौँ, तर आफ्नै भित्र उम्किरहेको लोभ, अहंकार, ईर्ष्या र अतृप्त चाहनाहरूलाई परिमार्जित गर्न सकेनौँ।यहीँबाट आधुनिक मानव सभ्यताको गहिरो सङ्कट र आत्मिक दरिद्रताको सुरुवात हुन्छ। जब मानिसले बाह्य समृद्धिलाई नै जीवनको सर्वोपरि लक्ष्य मान्छ र आन्तरिक चेतनाको शुद्धीकरणलाई बिर्सन्छ, तब समाज यन्त्रवत्, निर्दयी र दिशाहीन बन्न पुग्छ।
विकास कि विनाशको बीउ? विवेकहीन प्रगतिको समीक्षा
विकास आफैँमा कुनै समस्या वा विकृति होइन। मानव जीवनलाई सहज, सुरक्षित, स्वस्थ, सुसंस्कृत र सम्मानजनक बनाउने विकास मानवताको अनिवार्य आवश्यकता हो। तर, जब विकासको वैचारिक आधार विवेकको सट्टा लोभ, आवश्यकताको सट्टा असीमित उपभोग, र प्रकृति सेवाको सट्टा प्रभुत्व जमाउने अहम् बन्छ, तब त्यस्तो विवेकहीन विकासले समृद्धिको साटो विनाशको बीउ रोप्न थाल्छ।आज विश्व समुदायले भोगिरहेका वातावरणीय र पारिस्थितिकीय सङ्कटहरू यसैका प्रत्यक्ष दुष्परिणाम यसप्रकार छन् ।
वन विनाश र जैविक विविधताको क्षय: अनियन्त्रित सहरीकरण र औद्योगिकीकरणका नाममा जल, जंगल र जमिनमाथि व्यापक अतिक्रमण भइरहेको छ। वातावरणीय प्रदूषण र सङ्कट: नदीनालाहरू फोहोरका डम्पिङ साइट बनेका छन्, वायुमण्डल दूषित बनेको छ र प्राकृतिक स्रोतहरूको दोहन चरम विन्दुमा पुगेको छ।जलवायु परिवर्तनका चुनौतीहरू: अतिवृष्टि, अनावृष्टि, तापक्रम वृद्धि र प्राकृतिक विपत्तिहरू केवल प्रकृतिका स्वाभाविक आकस्मिकता मात्र होइनन्; यी त मानवका गलत निर्णय, उपभोक्तावादी व्यवहार र विवेकहीन विकासका प्राथमिकताहरूसँग गहिरोसँग जोडिएका दुष्परिणाम हुन्।
प्रकृतिले सधैँ आफ्नो शाश्वत नियमअनुसार प्रतिक्रिया दिन्छ। जब मानिसले पृथ्वीको प्राकृतिक सन्तुलन र लय बिगार्छ, त्यसको घातक असर अन्ततः मानव जीवन र भावी पुस्तामै फर्किएर आउँछ। हामीले नदीहरूलाई प्रदूषित बनाउँदा अन्ततः आफ्नै पिउने पानीको स्रोत धमिल्याइरहेका हुन्छौँ। हामीले वनजंगल नष्ट गर्दा केवल रूखहरू ढालिरहेका हुँदैनौँ, आफ्नै अस्तित्व र भविष्यको सुरक्षा कवचलाई ध्वस्त पारिरहेका हुन्छौँ।
तसर्थ, आजका वातावरणीय विपत्ति र सङ्कटहरूलाई केवल भाग्यको खेल वा दैवी प्रकोप भनेर पन्छिन मिल्दैन।यद्यपि सबै विपत्तिहरू मानवकै कारणले मात्र उत्पन्न हुँदैनन्, तर मानव सिर्जित जोखिम, वातावरणीय असन्तुलन र प्राकृतिक विनाशको नैतिक तथा व्यावहारिक जिम्मेवारीबाट मानव स्वयं भाग्न सक्दैन। मानिसले प्रकृतिलाई जितेर वा पराजित गरेर होइन, प्रकृतिसँग आत्मिक सन्तुलन र सहअस्तित्व कायम गरेर मात्र आफ्नो अस्तित्वलाई सुरक्षित राख्न सक्छ।
चेतनाभित्रको सङ्कट : स्वार्थ, अहंकार र नैतिकताको ह्रास
आधुनिक युगमा हामीले झेलिरहेका समस्याहरू केवल भौतिक वा वातावरणीय मात्र छैनन्। सामाजिक अशान्ति, अविश्वास, हिंसात्मक प्रवृत्ति, मानसिक तनाव, सम्बन्धहरूमा बढ्दो दूरी, एकाकीपन र भविष्यप्रतिको गहिरो असुरक्षाबोधले आजको मानव मनलाई ग्रस्त बनाएको छ। यी दृश्य समस्याका कारणहरू बाहिर भिन्न-भिन्न देखिए तापनि तिनलाई मलजल गर्ने मूल जरो मानव चेतनाभित्रै गाडिएको छ।त्यो साझा विकृति हो स्वार्थले जिम्मेवारीलाई जित्नु, अहंकारले विनम्रतालाई दबाउनु, र क्षणिक लाभले नैतिक मूल्य-मान्यतालाई पछाडि पार्नु। जब समाजका प्रमुख स्तम्भहरूमा यसरी मूल्यहरूको ह्रास आउँछ, तब समाजको आत्मा नै जर्जर र कमजोर हुन थाल्छ। मानवताको वास्तविक सङ्कट त्यतिबेला उत्कर्षमा पुग्छ:
जब हामी अरूको चीत्कार र पीडा देखेर पनि नदेखेझैँ गरी निष्ठुर बन्छौँ; जब आफ्नो क्षणिक सुविधा र भोगका लागि अरूको मौलिक अधिकार र अस्तित्वलाई बिर्सन्छौँ; जब सफलता र समृद्धिको शिखर चढ्न सत्य, न्याय र इमानदारीसँग निरन्तर सम्झौता गर्छौँ; अनि जब आफ्नै संकीर्ण स्वार्थलाई नै जीवनको अन्तिम र परम सत्य ठान्ने भूल गर्छौँ।
हामीले पटक पटक सम्झनुपर्छ कि मानवको श्रेष्ठता र गरिमा अरू प्राणी वा मानिसमाथि प्रभुत्व र शासन गर्न सक्ने क्षमतामा होइन, आफ्नो अपार शक्तिलाई संयमित, मर्यादित र धर्मसापेक्ष राख्न सक्ने विवेकमा निहित छ। ठूलो हुनु भनेको अरूबाट धेरै खोस्नु वा लिनु होइन, आवश्यकता पर्दा अरूको भलाइका लागि सहर्ष त्याग गर्न सक्नु हो। सभ्य हुनु भनेको केवल अत्याधुनिक यन्त्र र साधनहरूको प्रयोग गर्नु मात्र होइन, ती साधनहरूको प्रयोग गर्दा जीवन, समाज, प्राणी जगत् र प्रकृतिप्रति कत्तिको उत्तरदायी र संवेदनशील रहन सकिएको छ भन्ने कुरामा निर्भर हुन्छ।
नवरात्रिको आध्यात्मिक रहस्य : आन्तरिक अन्धकारसँगको सङ्ग्राम
दार्शनिक तथा आध्यात्मिक दृष्टिले हेर्दा, नवरात्रिमा हामीले आराधना गर्ने आदिशक्तिका विभिन्न स्वरूपहरू दुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वती केवल धार्मिक कथा वा मन्दिरमा स्थापित मूर्ति मात्र होइनन्। यी त मानव चेतनामार्फत प्रकट हुने दिव्यता, शक्ति र सद्गुणका प्रतीकहरू हुन्।
भगवती दुर्गा: हामीभित्र अन्याय, अत्याचार र असत्यका विरुद्ध दृढतापूर्वक उभिने अभय साहस र आत्मबलकी प्रतीक हुन्।महाकाली: समयको कठोर र शाश्वत सत्यलाई स्वीकार गर्ने, अज्ञानतालाई भस्म गर्ने र हामीभित्रका विनाशकारी तामसिक प्रवृत्तिहरूलाई समूल नष्ट गर्ने संहारक शक्तिको प्रतीक हुन्।महालक्ष्मी: समृद्धि, ऐश्वर्य र सात्त्विक सम्पत्तिलाई धर्म, मर्यादा, करुणा र समाज सेवाको मार्गमा जोड्ने प्रेरणाकी स्रोत हुन्।महासरस्वती: विवेक, ज्ञान, सत्यको निष्ठापूर्वक खोजी र उच्च चेतना प्रस्फुटन गराउने प्रकाशकी प्रतीक हुन्।
तर, आज हामीले आफैँलाई एउटा आत्मसमीक्षात्मक प्रश्न सोध्नैपर्छ हामी देवीको पूजाआराधना त गर्छौँ, तर के आफ्ना भित्र लुकेका दुर्गुण, असत्य र कामादि षड्पुहरूका विरुद्ध पनि उभिन सकेका छौँ? हामी बाहिरी अन्धकार हटाउन दीप प्रज्ज्वलित गर्छौँ, के आफ्नै विचार र मनमा जमेको घृणा, ईर्ष्या, द्वेष र लोभको अन्धकार हटाउन सकेका छौँ? हामी देवीलाई प्रसन्न पार्न अन्न-जल त्यागेर उपवास बस्छौँ, के आफ्ना अनियन्त्रित इच्छा, वासना र स्वार्थलाई संयमित र अनुशासित गर्ने अभ्यास गर्छौँ?
यदि पूजाआराधना सकिएपछि पनि हाम्रो दैनिक व्यवहारमा करुणा र नम्रता जाग्दैन, हाम्रा निर्णय र कर्महरूमा न्याय र इमानदारी देखिँदैन, र हाम्रो व्यक्तिगत तथा सार्वजनिक जीवनमा सत्यको स्थान बढ्दैन भने, हाम्रा साधनाहरूले अझै अन्तरात्मालाई स्पर्श गर्न सकेका छैनन् भन्ने बुझ्नुपर्छ।बाहिर पूजामा जोडिने हातहरूले जब आफूभित्रको अहंकार, दम्भ र स्वार्थलाई त्याग्न थाल्छन् र समाजका दुःखी, पीडित तथा असहायहरूको आँसु पुछ्ने कर्म गर्न थाल्छन्, तब मात्र देवीको सच्चा आराधना पूर्णतातर्फ अघि बढ्छ।
समर्पणको दार्शनिक मर्म : सत्यको स्वीकार र अहंकारको विसर्जन
आजको दिशाहीन र सङ्कटग्रस्त मानवतालाई सबैभन्दा बढी आवश्यकता परेको कुरा केवल नयाँ प्रविधि, नयाँ राजनीतिक सिद्धान्त वा नयाँ आर्थिक विकासका योजनाहरू मात्र होइनन्; यी सबै साधनहरूलाई सही, न्यायिक र कल्याणकारी दिशामा डोर्याउन सक्ने परिमार्जित र परिष्कृत मानवीय चेतना हो।

यसका लागि मानिसमा समर्पण भावको विकास हुनु अनिवार्य छ। हामीले विनम्रतापूर्वक यो सत्य स्वीकार गर्नुपर्छ कि हामी यस विशाल प्रकृतिका निरंकुश ‘मालिक’ वा ‘शासक’ होइनौँ, बरु यसको भव्य र सन्तुलित जीवनचक्रका एउटा साना सहभागी मात्र हौँ।हामी जीवन र ब्रह्माण्डका सर्वज्ञ नियन्ता होइनौँ, निरन्तर सिकिरहनुपर्ने र प्रकृतिका नियमअनुसार चल्नुपर्ने सीमित प्राणी हौँ।हामीले निर्माण गरेका सामाजिक, राजनीतिक र आर्थिक व्यवस्थाहरू सधैँ निर्दोश वा अकाट्य हुन्छन् भन्ने छैन; हाम्रा निर्णयहरू सधैँ विवेकपूर्ण नै हुन्छन् भन्ने भ्रमबाट हामी मुक्त हुनुपर्छ।यही आत्मस्वीकारोक्ति र नम्रता नै आध्यात्मिक समर्पणको प्रस्थानविन्दु हो।
आध्यात्मिक सन्दर्भमा समर्पण भनेको कुनै कायरता, निष्क्रियता वा पलायनवाद होइन। अन्यायलाई चुपचाप सहनु, गलत निर्णयहरूलाई आँखा चिम्लेर समर्थन गर्नु वा विपत्तिसामु प्रयास नगरी हात बाँधेर बस्नु कदापि समर्पण होइन। सच्चा समर्पण त अहंकारलाई त्यागेर परम सत्यलाई स्वीकार गर्नु, आफ्ना गल्तीहरूलाई महसुस गरी सच्याउनु र आफूभन्दा विराट जीवनव्यवस्था सृष्टिप्रति पूर्ण रूपमा जिम्मेवार हुनु हो।
जब मानवले आफ्नो सीमा र प्रकृतिको विराटतालाई बुझ्छ, तब उसभित्र सच्चा विवेक जन्मिन्छ। जब विवेकले लोभ र अतृप्त चाहनाहरूलाई नियन्त्रण गर्छ, तब जीवनमा संयम र सन्तोष जन्मिन्छ। जब संयमले हाम्रा दैनिक कर्महरूलाई मार्गदर्शन गर्छ, तब व्यक्ति र समाजमा सन्तुलन स्थापित हुन्छ। अनि त्यही सन्तुलनको जगमा मात्रै स्थायी शान्ति, सहअस्तित्व र वास्तविक समृद्धिको बाटो खुल्छ।
समर्पणमै आत्मशुद्धि छ, शुद्धिमै विवेक छ, विवेकमै जीवनको सन्तुलन छ, र सन्तुलनमै मुक्तिको सम्भावना निहित छ। त्यसैले अब हामीले प्रकृतिमाथि प्रभुत्व जमाउने दम्भ होइन, प्रकृतिसँग मिलेर बाँच्ने विवेक रोज्नुपर्छ। समाजलाई विभाजित गर्ने स्वार्थ होइन, सम्बन्धहरूलाई जोड्ने करुणा रोज्नुपर्छ। अनि क्षणिक भौतिक लाभका लागि भविष्यलाई दाउमा लगाउने गैरजिम्मेवार प्रवृत्ति होइन, भावी पुस्ताप्रतिको गम्भीर दायित्वबोध रोज्नुपर्छ।
रूपान्तरणको प्रस्थानविन्दु : आफैँबाट सुरु हुने परिवर्तन
संसारलाई बदल्ने, क्रान्ति गर्ने र युग रूपान्तरणका कुरा गर्नु अत्यन्तै सुन्दर विचार हो, तर कुनै पनि वास्तविक परिवर्तनको पहिलो र आधारभूत भूमि भनेको आफ्नै जीवन र चेतना हो।जब हामी प्रकृतिको संरक्षणको ठूला कुरा गर्छौँ, तब सबैभन्दा पहिले आफ्नै उपभोगका बानी र फोहोर उत्सर्जन गर्ने व्यवहारमाथि प्रश्न गर्नुपर्छ।जब हामी समाजमा इमानदारी र भ्रष्टाचारमुक्त व्यवस्थाको वकालत गर्छौँ, तब आफ्नै दैनिक व्यावहारिक लेनदेन र निर्णयहरूमा इमानदारी जाँच्नुपर्छ।जब हामी समानता र सामाजिक न्यायका नारा लगाउँछौँ, तब आफ्नै सोच्ने दृष्टिकोण र व्यवहारमा लुकेका विभेद र पूर्वाग्रहहरू पहिचान गरी त्याग्नुपर्छ।अनि जब हामी विश्वशान्तिको कामना गर्छौँ, तब आफ्नै बोली, विचार र व्यवहारबाट अरूलाई पुग्ने चोट र अशान्तिलाई रोक्नुपर्छ।
हामीले आफ्ना बालबालिकाहरूलाई केवल अस्वस्थ प्रतिस्पर्धामा प्रथम हुने होडबाजी मात्र होइन, अरूसँग मिलेर अघि बढ्ने सहकार्य, सहानुभूति र नैतिकता पनि सिकाउनुपर्छ। शिक्षालाई केवल रोजगारी र धन आर्जन गर्ने यन्त्र बनाउने माध्यममा सीमित नराखी, विवेकशील, संवेदनशील र जिम्मेवार नागरिक निर्माण गर्ने पवित्र आधार बनाउनुपर्छ। राजनीतिलाई सत्ता, शक्ति र साधन कब्जा गर्ने खेलबाट माथि उठाएर विशुद्ध सार्वजनिक सेवा र सामाजिक उत्तरदायित्वको निष्ठावान् माध्यमका रूपमा स्थापित गरिनुपर्छ। अर्थतन्त्रलाई नाफा र घाटाको अंकगणितमा मात्र सीमित नराखी मानवीय गरिमा, सामाजिक न्याय र प्राकृतिक पर्यावरणको संरक्षणसँग गाँसिनुपर्छ।
यस महान् रूपान्तरणको अभियानमा सरकार, समाज, विभिन्न संघसंस्था र व्यक्तिगत नागरिक सबैको आआफ्नो विशिष्ट भूमिका हुन्छ। दायरा र क्षमताका आधारमा जिम्मेवारीको आकार फरक हुन सक्छ, तर चेतनाको यो पुनर्जागरणमा सबैको योगदान उत्तिकै अनिवार्य छ।हामीले आफ्ना साना साना सात्त्विक कर्महरूलाई कहिल्यै तुच्छ वा निरर्थक मान्नु हुँदैन।एउटा रूख रोप्नु वा जोगाउनु, एउटा नदी वा सार्वजनिक स्थल सफा राख्नु, कुनै अन्याय वा असत्यका विरुद्ध दृढतापूर्वक आवाज उठाउनु, एउटा दुःखी, निराश वा पीडित मनलाई नि:स्वार्थ सहारा दिनु, अनि आफ्ना बालबालिकालाई सत्य, अहिंसा र करुणाको संस्कार दिनु । यी सबै कर्महरू वास्तवमा मानवताको पुनर्निर्माण र दिव्य समाज स्थापनाका जीवन्त ईंटा हुन्। मानवता कुनै ठूला औपचारिक घोषणा वा भाषणहरूबाट मात्र स्थापित हुँदैन, यो त मानिसको दैनिक आचरण र व्यवहारमा पल-पल प्रकट हुन्छ।
दिव्य महासागरमा फर्किने महायात्रा
आध्यात्मिक र दार्शनिक दृष्टिकोणबाट हेर्दा मानव जीवन एउटा परम यात्रा हो भौतिक अस्तित्वबाट चेतनातर्फ, चेतनाबाट आत्मबोधतर्फ, र आत्मबोधबाट सम्पूर्ण विराट जीवनसँगको अद्वैत एकत्वबोधतर्फ।हामी सबै अनन्त र दिव्य महासागरबाट उठेका जलका साना साना थोपाहरू जस्तै हौँ। जब थोपाले आफ्नो छुट्टै र पृथक् अस्तित्वमा मात्र रमाउन खोज्छ, तब उसले आफूलाई सीमित र एकाकी पाउँछ। तर, वास्तवमा उसको सम्पूर्ण अस्तित्व, पहिचान र गति अनेकौँ प्राकृतिक प्रक्रिया र ब्रह्माण्डीय सम्बन्धहरूसँग गाँसिएको हुन्छ।जलको थोपाले क्षणभरका लागि आफ्नो मूल उद्गम महासागरलाई बिर्सन सक्ला, तर महासागरको सम्बन्ध र कृपाबिना उसको अस्तित्व र यात्राको कुनै सार्थकता हुन सक्दैन।त्यसैगरी, मानिसले पनि जब आफूलाई प्रकृति, समाज र समग्र प्राणी जगत्बाट अलग, श्रेष्ठ र बेग्लै प्राणी ठान्ने गल्ती गर्छ, तब उसले आफ्नै जीवनको मूल आधारलाई बिर्सन्छ।
दिव्य महासागरमा फर्किनु भनेको भौतिक संसार, गृहस्थ जीवन वा कर्तव्यहरूलाई छाडेर जङ्गल वा गुफातिर भाग्रे पलायन हुनु होइन। यसको वास्तविक अर्थ हो आफूभित्र जमेको संकीर्णता, स्वार्थ र भेदभावको पर्खाललाई पगाल्दै विराट् र व्यापक सर्वव्यापी चेतनासँग जोडिनु। आफ्नो अहम् र स्वार्थको साँघुरो दायराबाट बाहिर निस्किएर सम्पूर्ण प्राणीको अस्तित्वलाई आदर र सम्मान गर्नु। प्रकृतिलाई केवल उपभोगको वस्तु नठानी जीवनकी जीवन्त सहयात्रीका रूपमा अनुभव गर्नु हो।
जब मानिसको विचार शुद्ध हुन्छ, तब उसको जीवनदृष्टि स्पष्ट हुन्छ। जब दृष्टि स्पष्ट हुन्छ, तब उसका कर्महरू जिम्मेवार र धर्मसापेक्ष बन्छन्। जब कर्महरू जिम्मेवार बन्छन्, तब सम्बन्धहरूमा स्वतः करुणा, प्रेम र सद्भावको सञ्चार हुन्छ। अनि करुणा, विवेक र प्रेमले निर्देशित जीवनमा आध्यात्मिकता केवल भाषण वा सिद्धान्तमा सीमित रहँदैन त्यो त दैनिक व्यवहार, संस्कार र जीवनको स्वाभाविक लय बन्छ।
यही नै आत्मशुद्धिको गहिरो र शाश्वत अर्थ हो।हाम्रो भौतिक शरीर पृथ्वीका तत्त्वहरूसँग जोडिएको छ, हाम्रो श्वास वायुसँग, हाम्रो जीवन जलसँग, हाम्रो आन्तरिक ऊर्जा अग्निसँग र हाम्रो चेतना अन्तरिक्षसँग सम्बन्धित छ। यी पञ्चतत्त्वहरूसँगको प्राकृतिक सन्तुलन बिगारेर हामी कहिल्यै पनि पूर्ण, स्वस्थ र आनन्दित जीवनको कल्पना गर्न सक्दैनौँ। त्यसैले पञ्चतत्त्वप्रतिको सम्मान केवल धार्मिक कर्मकाण्ड मात्र होइन; यो त हाम्रो अस्तित्वका आधारहरूप्रतिको परम कृतज्ञता र वैज्ञानिक सत्य पनि हो।
आदिशक्ति भगवती दुर्गाको सच्चा आराधनाले हामीलाई यही अमर बोध गराओस् कि शक्ति प्राप्त गर्नु मात्र पर्याप्त छैन, शक्तिलाई विवेक र धर्मले निर्देशित गर्न जान्नुपर्छ।भौतिक रूपमा समृद्ध हुनु मात्र पर्याप्त छैन, समृद्धिलाई न्यायपूर्ण र कल्याणकारी बनाउन जान्नुपर्छ।विद्वान् वा ज्ञानवान् हुनु मात्र पर्याप्त छैन, ज्ञानलाई मानवता र प्राणी जगत्को सेवामा समर्पण गर्न जान्नुपर्छ।
उपसंहार र निष्कर्ष : जागृत चेतना र मानवताको जय
आजको विश्वव्यापी वातावरणीय, सामाजिक र मानसिक सङ्कटहरूले हामीलाई केवल डराउन वा निराश बनाउन खोजेका होइनन्; यी सङ्कटहरूले त हामीलाई अज्ञानको निद्राबाट ब्युँझिन र जाग्न गम्भीर आह्वान गरिरहेका छन्। प्रकृतिको असन्तुलन, समाजमा बढ्दो विभाजन र मानव मनको अशान्तिलाई केवल बाहिरी वा प्राविधिक समस्याका रूपमा हेरेर मात्र पुग्दैन। हामीले आफ्ना जीवनपद्धति, विकासका परम्परागत परिभाषा र सफलताका मापदण्डहरूमाथि आमूल पुनर्विचार र आत्मसमीक्षा गर्नैपर्छ।
वास्तविक विकास त्यो हो, जसले प्रकृतिलाई विनाश नगरी जीवनलाई दिगो र सुरक्षित बनाउँछ।वास्तविक समृद्धि त्यो हो, जसले अरूको अधिकार र अस्तित्वलाई खोस्दैन, बरु सबैको कल्याणमा योगदान दिन्छ।सच्चा ज्ञान त्यो हो, जसले अहंकार र दम्भ बढाउँदैन, बरु हृदयमा विनम्रता र विवेक जगाउँछ।सच्चा धर्म त्यो हो, जसले घृणा र साम्प्रदायिक विद्वेष फैलाउँदैन, बरु करुणा, प्रेम र भ्रातृत्व सिकाउँछ।अनि सच्चा मानवता त्यो हो, जसले आफ्नो सुखसँगै अरूको दुःख र पीडालाई पनि महसुस गर्न सक्छ।
नवरात्रिको यो पावन र पुण्य अवसरमा हामी केवल देवीको प्रतिमाअघि उभिएर सुख, शान्ति र भौतिक समृद्धिको वरदान मात्र नमागौँ; ती प्राप्त शक्ति र समृद्धिलाई सही मार्गमा प्रयोग गर्न सक्ने जागृत चेतना पनि मागौँ। केवल विपत्ति र दुःखबाट मुक्ति मात्र नमागौँ; विपत्ति निम्त्याउने आफ्ना भित्रका गलत प्रवृत्ति, लोभ र अहंकारलाई सच्याउने साहस पनि मागौँ। केवल संसार बदलियोस् भन्ने कामना मात्र नगरौँ; संसारलाई सुन्दर बनाउने प्रक्रियामा सर्वप्रथम आफू पनि बदलिने दृढ सङ्कल्प गरौँ।
किनकि, मानिसले आफूभित्रको चेतना र दृष्टिकोण परिवर्तन नगरी बाह्य संसारमा कहिल्यै पनि स्थायी शान्ति, सन्तुलन र सुव्यवस्था स्थापित गर्न सक्दैन।तसर्थ, यस नवरात्रिमा हामी प्रत्येकले आफ्नै अन्तरात्माको दीप प्रज्ज्वलित गरौँ। लोभमाथि संयमको, घृणामाथि प्रेमको, अहंकारमाथि विनम्रताको र अविवेकमाथि सत्यको शाश्वत विजय उत्सव मनाऔँ। प्रकृतिसँग सहअस्तित्व, समाजसँग सद्भाव र समग्र जीवनसँग कृतज्ञताको पवित्र सम्बन्धलाई पुनः स्थापित गरौँ।
हामी पृथ्वीका मालिक होइनौँ, यसका संरक्षक हौँ। हामी जीवनका उपभोगकर्ता मात्र होइनौँ, यसको निरन्तरताका उत्तरदायी सहभागी हौँ। हामी छुट्टाछुट्टै भौतिक अस्तित्वमा देखिए तापनि जीवनको एउटै विराट चेतना प्रवाहसँग जोडिएका छौँ।यस शाश्वत सत्यको साक्षात बोध हुनु नै मानवताको पुनर्जागरण हो। यस जागरणको निरन्तर अभ्यास गर्नु नै सच्चा साधना हो।अनि यस साधनाबाट संकीर्ण स्वार्थको घेरा तोडेर प्रेम, करुणा र एकत्वको विराटतामा प्रवेश गर्नु नै दिव्य महासागरमा फर्किने परम महायात्रा हो।
शुभ नवरात्रि! आदिशक्ति भगवतीको असीम कृपाले हामी सबैको हृदयमा शुद्धता, विचारमा स्पष्टता, कर्ममा विवेक, सम्बन्धहरूमा करुणा र जीवनमा पूर्ण सन्तुलन जागृत होस्। मानिसले मानिसको मर्म बुझोस्, मानवले प्रकृतिको आदर र सम्मान गरोस्, र मानवताले पुनः आफ्नो दिव्य स्वरूप प्राप्त गरोस्।जय आदिशक्ति ! मानवताको जय होस्!